उपत्यकाको फोहोर विसर्जनमा फेरि अवरोध,माग सम्बोधन नभएको भन्दै विरोध


उपत्यकाको फोहोर विसर्जनमा फेरि अवरोध भएको छ।

पछिल्लो मन्त्रिपरिषद् बैठकले नुवाकोटमा पर्ने सिसडोल र धादिङसँग सीमा जोडिएको बञ्चरेडाँडाको ल्याण्डफिल साइटमा फोहर व्यवस्थापनको क्रममा उत्पन्न हुने प्रभाव न्यूनीकरण गर्न उच्चस्तरीय समिति बनाउने निर्णय गरेको थियो। तर आफूहरुको माग सम्बोधन नभएको भन्दै फोहर बिर्सजन कार्यमा जारी अवरोध कायमै रहेको सरोकार समितिले जनाएको छ।

फागुन २३ गतेदेखि सुरु भएको स्थानीयवासीको विरोधको कारण आज पनि काठमाडौँबाट फोहर आउन नदिएको ‘बञ्चरेडाँडा ल्याण्डफिल्ड साइट प्रभावित क्षेत्र सरोकार समिति’का संयोजक श्रीराम ढुङ्गानाले जानकारी दिए। प्रभावित क्षेत्रको गुठीको जग्गा कानुनी प्रक्रियाअनुसार रैकर गर्नुपर्ने, प्रभावित क्षेत्रको उच्च प्रभावित बनेका वस्ती स्थानान्तरण गर्नुपर्ने, फोहर बिसर्जन गर्न जाने सडकको स्तरोन्नति हुनुपर्ने र फोहर बिसर्जन वैज्ञानिक रुपमा गर्नुपर्ने स्थानीयको माग छ।

सरकारले प्रभावित क्षेत्रमा देखिएका समस्या समाधानका लागि उच्चस्तरीय समिति र र्‍यापिड एक्सन टास्क फोर्स गठन गर्ने निर्णय गरे पनि त्यसमा हाम्रो जायज मागको सम्बोधन भएको छैन, संयोजक ढुङ्गानाले भने, नयाँ माग र समस्या केही होइन, यसअघि भएको सहमतिको पालना गर्न सरकारीस्तरबाट स्पष्ट निर्णय नआएसम्म विरोध कायम रहन्छ।

प्रभावित क्षेत्रका बासिन्दाले नुवाकोट र धादिङमा पर्ने विभिन्न गाउँका बस्ती स्थानन्तरण र उक्त क्षेत्रको करिब तीन हजार रोपनी जग्गा अधिग्रहण हुनुपर्ने माग मुख्य रुपमा उठाएका छन्। त्यस क्षेत्रको जग्गा पशुपति, कालमोचन भैरवलगायतका गुठीको नाममा भएकाले कानुनअनुसार रैकर हुनुपर्ने भन्दै सरोकार समितिको नेतृत्वमा गत २३ गतेदेखि उपत्यकाको फोहर बिसर्जनमा अवरोध गर्न थालिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *