राष्ट्रिय स्तरको यू-१९ मुख्यमन्त्री कप महिला क्रिकेट प्रतियोगिता धनगढीमा
कैलालीको धनगढीमा राष्ट्रिय स्तरको यू-१९ मुख्यमन्त्री कप महिला क्रिकेट प्रतियोगिता हुने भएको छ ।
चैत ६ गतेदेखि हुने प्रतियोगिता नेपाल क्रिकेट संघ (क्यान) सुदूरपश्चिम प्रदेश समितिले आयोजन गर्न लागेको छ ।प्रतियोगिता बारेमा जानकारी दिंदै क्यानका प्रदेश अध्यक्ष हरी रेग्मीले महिला क्रिकेटमा तल्लो स्तरका खेडालीको पहिचान र क्षमता अभिवृद्धि गर्न यू-१९ प्रतियोगिता सञ्चालन गर्ने तयारी गरिएको उनले बताए ।
‘सिनियर क्रिकेट प्रतियोगिता जताततै भइरहेका छन्, ‘उनले भने, ‘तर यू-१९ स्तरका महिला खेल खासै सञ्चालन हुन सकेका छैन, तर क्रिकेटको आधार यू-१९ नै भएका कारण त्यसलाई बलियो बनाउन खोजेका हौँ ।’
प्रतियोगितामा ७ वटै प्रदेशबाट यू-१९ समूहको टोली सहभागी हुने उनले बताए । प्रतियोगितामा प्रथम हुने टोलीलाई नगद ५ लाख तथा उपविजेता टोलीलाई ३ लाख प्रदान गरिने पनि उनले बताए ।
क्रिकेटको राष्ट्रिय टोलीलाई बलियो बनाउन यू-१९ स्तरका घरेलु प्रतियोगिता हुन आवश्यक रहेको सुदूरपश्चिम प्रदेश खेलकुद परिषदका सदस्य सचिव दिपकबहादुर सिंहले बताए ।