नेपालमा सहरी केबलकार विकास सहयोग गर्न फ्रान्स इच्छुक
फ्रान्सले नेपालमा सहरी केबलकार विकासका लागि सहयोग गर्न इच्छुक रहेको बताएको छ।
सोमबार नेपालका लागि फ्रान्सका राजदूत जिल बुरवाओले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु कुमारी यादवलाई भेटेर काठमाडौंमा सहरी केबलकार निर्माणका लागि सहयोग गर्न फ्रान्स तयार रहेको बताएका हुन्।
नेपाल र फ्रान्स दुवै पहाडी मुलुक भएको भन्दै फ्रान्ससँग केबलकार निर्माणमा विशेष अनुभव रहेकाले यस क्षेत्रमा तत्कालै सहयोग गर्न सक्ने राजदूत बुरवाओले मन्त्री यादवलाई बताएका थिए।फ्रान्सले यसअघि नै नेपालमा सहरी केवलकारको सम्भाव्यता अध्ययन गरेको थियो। काठमाडौं उपत्यकाको लगनखेलदेखि बुढानिलकण्ठ रुटमा सहरी केबलकार बनाउने सम्भावनाबारे फ्रान्सले अध्ययन गरेको हो। सोही परियोजनाको अवस्थाबारे मन्त्रीलाई सोध्दै फ्रान्सेली राजदूतले नेपाल सरकारले चाहे आफूहरु उक्त केबलकार निर्माणमा सहयोग गर्न तत्पर रहेको बताएका थिए।