६७ देशबाट आउने यात्रुलाई ७ दिन होटल क्वारेन्टाइन बस्नुपर्ने नियम स्थगित


सरकारले शुक्रवार विभिन्न ६७ देशबाट नेपाल आउने यात्रुहरुलाई सात दिनसम्मको होटल क्वारेन्टाइन अनिवार्य गरेको निर्णय सार्वजनिक गरेको थियो। विश्वभर कोरोना भाइरसको ओमोक्रन भेरियन्ट फैलिरहेको अवस्थामा अध्यागमन विभागले एक विज्ञप्ती निकाल्दै क्वारेन्टाइन अनिवार्य गरिएका देशहरु सूची नै सार्वजनिक गरेको थियो।

तर, क्वारेन्टाइन बस्नुपर्ने नियम एकैदिनमा सरकारले फिर्ता लिएको छ। शनिवार बिहान अध्यागमन विभागले शुक्रवार जारी गरेको विज्ञप्ती तत्कालका लागि स्थगित गरेको जनाएको हो। विभागले यसअघि लागू नियम भने यथावत् रहने भनेको छ।

शुक्रवार अध्यागमन विभागको सूचनामा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण बढिरहेका देशबाट आउने यात्रुलाई क्वारेन्टाइन अनिवार्य गरेको थियो। जसमा अफ्रिका, युरोप तथा एसियाली मुलुक समेत सामेल थिए।

विभागको सूचना अनुसार यसरी आउने यात्रुहरु आफ्नै खर्चमा सात दिनसम्म होटल क्वारेन्टाइनमा बस्नुपर्ने नियम थियो। साथै, कोभिड परीक्षण नेगेटिभ देखिएका व्यक्तिले थप सात दिन होम आइसोलेसनमा बस्नुपर्ने नियम उल्लेख थियो। कोभिड १९ परीक्षण पोजेटिभ देखिएमा आइसोलेसन केन्द्र वा अस्पताल पठाइने व्यवस्था विभागको विज्ञप्तीमा थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *