पार्टीमा परिवर्तनकारीहरु विजयी भएका छन्, हामी लड्यौँ र राजनीति जित्यौ : नेता शेखर कोइराला
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीमा परिवर्तनकारीहरु विजयी भएको बताएका छन्। १४ औं महाधिवेशनमा सभापति पदका लागि भएको निर्वाचनमा पराजित भएपछि आज एक प्रेस विज्ञप्ती जारी गर्दै उनले महाधिवेशनको प्रतिस्पर्धा पार्टी भित्र रहेको यथास्थितिवादी र परिवर्तनकारी रहेको बताएका हुन्।पार्टीमा यथास्थिति चाहने सबैको अपवित्र गठजोड पनि हामी विरुद्ध भयो, तर पनि हामी लड्यौँ र राजनीति जित्यौ उनले भने।
कांग्रेस यथास्थितिमा चल्न सम्भव छैन भन्ने सन्देश कांग्रेस समर्थकमा मात्रै नभइ नेपालीको घर दैलोमा पुर्याएको उनले बताएका छन्। आफूहरु परिवर्तनकारी शक्ति भएको र निष्ठावान कार्यकर्ताहरुको भरोसा र विश्वासका साथ समर्थन रहेको उनले बताएका छन्।
पार्टी भित्र मात्र होइन, पार्टी बाहिरका आम लोकतन्त्रवादीहरु बिच पनि हामीले कांग्रेसप्रति आकर्षण बढाएका छौँ, भरोसा र विश्वासको वृद्धि गराएका छौुं उनले उल्लेख गरेका छन्।
आफूले महाधिवेशनमा ४० प्रतिशत मत पाएको भन्दै उनले कांग्रेस सुधारको प्रक्रियालाई अगाडि बढाउने थप जिम्मेवारी आफ्नो काँधमा आएको बताए। पार्टी भित्र रुपान्तरण र परिवर्तनको यो लडाई हामीलाई सहज थिएन।उनले पार्टीमा आफूहरुको प्रतिस्पर्धा सभापति शेरबहादुर देउवासँगमात्रै नभएको बताएका छन्।