क्रियाशील सदस्यता विवाद कांग्रेसले पाँच दिनभित्र टुंग्याउने
नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानविन समितीले केही जिल्लाको विवाद यथावत राखेर पार्टी सभापति शेर बहादुर देउवालाइ प्रतिवेदन बुझाएको छ ।
बिहीबार देउवाको निजी निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकमा समितिका संयोजक रमेश लेखकले विभिन्न ६ जिल्लाको विवाद यथावत राखेर प्रतिवेदन बुझाएका हुन् ।
क्रियाशील सदस्यता विवाद सल्ट्याएर प्रतिवेदन बुझाउन बिहीबारसम्मको समय प्रदान गरिएकोमा समितिले केही त्रुटि सच्चाएर प्रतिवेदन बुझाएको हो ।सप्तरी, बारा, धनुषा, सर्लाही–२, सिन्धुपाल्चोक र रसुवाबारे विवाद कायमै रहेको नेताहरुले जनाएका छन् ।
छानविन समितिका संयोजक रमेश लेखकले प्रतिवेदन पार्टीमा बुझाइएको र अव विवादका विषयहरु नेताहरुकै तहबाट छलफल गरेर समाधान गर्ने निर्णय बैठकले गरेको जानकारी दिए ।उनले ५ दिन भित्र विवाद समाधान गर्ने प्रतिवद्धता नेताहरुले जनाएको बताए । लेखकले तोकिएको समयमा नै महाधिवेशन गर्नका लागि पार्टी गम्भीर भएर छलफलमा लागेको उल्लेख गरे ।
त्यस्तै कांग्रेस नेता प्रदीप पौडेलले ४ प्रतिशत बाँकी काम रहेको र यसले महाधिवेशन प्रभावित नहुने बताए । अब निर्वाचन समितिले काम छिटो गरेमा तोकिएको समयमै महाधिवेशन हुने उनले बताए ।