पत्रकारको निःशुल्क उपचार गर्न प्रेस काउन्सिलको आग्रह
प्रेस काउन्सिल नेपालले कोभिडले स्वास्थ्य समस्यामा परेका पत्रकारको निःशुल्क उपचारका लागि सरकारसँग आग्रह गरेको छ । कोरोना महामारीले पत्रकार र मिडियामा पारेको प्रभाव सम्बन्धमा काउन्सिलले आज यहाँ आयोजना गरेको लुम्बिनी प्रदेशस्तरीय ‘भर्चुअल’ कार्यक्रममा अध्यक्ष बालकृष्ण बस्नेतले कोरोनाको अहिलेको महामारीमा पत्रकारको पक्षमा काम गर्नु काउन्सिलको अहम् जिम्मेवारी भएको बताए ।
पत्रकारको अवस्था र आचारसंहिताको कार्यान्वयन सम्बन्धमा कार्यक्रम राखिएको भन्दै उनले कोभिडले समस्यामा परेका पत्रकारको निःशुल्क उपचार हुनुपर्ने, स्वास्थ्य सामग्रीमा पहुँच पुग्नुपर्नेमा जोड दिए । मिडिया विधेयकको विषयमा काउन्सिलको ध्यानाकर्षण भएको भन्दै अध्यक्ष बस्नेतले प्रेस मैत्री हुनुपर्नेमा धारणा राखे ।
उनले लोककल्याणकरी विज्ञापनमार्फत मिडियाले पाउने सुविधा उपलब्ध गराउन सरकारसँग पहल गर्ने बताउँदै आचारसंहिताको पालना र कार्यान्वयनबाट स्वच्छ पत्रकारिताको विकास हुने भएकाले त्यसतर्फ सबै सचेत हुनुपर्नेमा जोड दिए ।