हेलिकोप्टरबाट डोल्पामा औषधि ढुवानी


जाजरकोट । उपल्लो डोल्पाका स्थानीयवासीलाई मध्यनजर गर्दै आइतबार हेलिकोप्टरबाट आवश्यक स्वास्थ्य सामग्रीसहित औषधि पुर्याइएको छ । दुई हप्तादेखि उपल्लो डोल्पाका तीन गाउँपालिकामा कोरोना जस्तै लक्षण भएका बिरामी भेटिएपछि समस्या परेको भन्दै गाउँपालिकाले सहयोगको याचना गरेका थिए ।

डोल्पोबुद्ध, छार्काताङसोङ र शे–फोक्सुण्डो गाउँपालिकाभित्रका गाउँगाउँमा सर्वसाधारणहरू ज्वरो र रूघाखोकी लागेर धमाधम बिरामी पर्न थालेको समाचार प्रकाशित भएको थियो । तीन गाउँपालिकाले संयुक्तरूपमा डोल्पो जनजाति विकास केन्द्रमार्फत विज्ञप्ति निकाल्दै सहयोगको आग्रह गरेका थिए । जनजाति विकास केन्द्रका अध्यक्ष क्याल्पो थापा भोटेका अनुसार उपर डोल्पामा शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गरिरहेको अल्टिच्युट प्रोजेक्टको सहयोगमा खरिद गरिएका २३० केजी अति आवश्यक औषधि, जिल्ला स्वास्थ्य कार्यालयमार्फत स्वास्थ्य विभागबाट पाएको दुई थान अक्सिजन कन्सन्ट्रेटर र हिक्यापबाट सहयोग प्राप्त स्वास्थ्य सामग्रीहरु शे–फोक्सुण्डो गाउँपालिकाको केन्द्र साल्दाङमा हेलिकोप्टरमार्फत पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *