स्वास्थ्यकर्मीमाथि आक्रमण गरे अब ५ वर्षसम्म कैद
स्वास्थ्य संस्थामा आगजनी गर्ने व्यक्तिलाई दुई वर्षदेखि पाँच वर्षसम्म कैद वा दुई लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने भएको छ। सरकारले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी अध्यादेश जारी गर्दै यस्तो व्यवस्था ल्याएको हो।
त्यस्तै, स्वास्थ्य संस्थामा तोडफोड वा अन्य कुनै कार्य गरी हानि नोक्सानी पुर्याएमा तथा स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई कुटपिट गरेमा वा शारीरिक रुपमा चोट पुर्याएमा तीन वर्षसम्म कैद वा तीनलाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने सक्ने भएको छ।
यसैगरी, स्वास्थ्य संस्थामा तालाबन्दी वा घेराउ गरेमा, स्वास्थ्य संस्थामा उपचारका लागि आएका वा उपचाररत बिरामीको उपचार गर्ने कार्यमा कुनै किसिमले बाधा पुर्याएमा वा स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई हातपात गर्ने, कुनै किसिमले धम्की दिने, गाली गलौज वा अभद्र वा अपमानजनक व्यवहार गर्नेलाई एक वर्षसम्म कैद वा एकलाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुन सक्ने छ।
यस्ता कसूर गर्ने व्यक्तिले गरेको काम कारबाहीबाट कुनै स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी वा स्वास्थ्य संस्थालाई कुनै हानि नोक्सानी भएकोमा मुद्दा हेर्ने अधिकारीले सम्बन्धित कसूरदारबाट त्यस्तो हानि नोक्सानी बापत मनासिब माफिकको क्षतिपूर्ति समेत भराइदिनु पर्नेछ। क्षतिपूर्ति भराउँदा क्षति बराबरको रकम भराउनु पर्ने व्यवस्था अध्यादेशमा उल्लेख छ।