अस्पताल र अक्सिजन उद्योगमा विद्युत् जान नदिन फिडर जडान
नेपाल विद्युत प्राधिकरणले अक्सिजन उत्पादन गर्ने उद्योगहरु र अस्पतालहरुलाई चौबिसै घण्टा विद्युत् आपूर्तिको वैकल्पिक व्यवस्था गरेको छ । प्राधिकरणले एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त कुराको जानकारी गराएको हो ।
अस्पताल र अक्सिजन उद्योगको संवेदनशीलतालाई ख्याल गर्दै विद्युत निर्वाद आपूर्तिका लागि वैकल्पिक फिडरसमेत तयार गरिएको छ ।
अक्सिजन उद्योगहरु रहेका ककनी, हरिसिद्धि, बुटवल, सिमरा, जनकपुर, विराटनगरलगायतका स्थानमा नयाँ वैकल्पिक फिडरहरु जडान गरिएको छ ।कोभिड-१९को दोस्रो लहर देखिनासाथ अक्सिजन उद्योग तथा अस्पतालहरुमा विद्युत् आपूर्ति हुने फिडरहरुको पहिचाहन गरी समस्या आउन नदिन आवश्यक व्यवस्था गर्न देशभरका वितरण केन्द्रहरुलाई निर्देशन दिइएको प्राधिकरणले जनाएको छ ।
साथै सम्बन्धित वितरण केन्द्रहरुले सोहीअनुसार प्रवन्ध गरेको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए । उनले अहिले अस्पताल र अक्सिजन उद्योगहरुमा विद्युत् आपूर्तिको समस्या नरहेको उल्लेख गरे ।
अक्सिजन उद्योग तथा अस्पतालहरुमा निर्वाद विद्युत आपूर्तिको लागि बागमती प्रादेशिक कार्यालयका प्रमुख श्रीरामराज पाण्डेको संयोजकत्वमा सहायता कार्यदल गठन गरिएको छ ।
अस्पताल तथा अक्सिजन उद्योगमा विद्युत् आपूर्तिमा समस्या आउन नदिन हरसम्भव उपाय अपनाएका छौं, कथंकदाचित समस्या आएमा त्यसको तत्काल जानकारी दिन प्राधिकरणले आग्रह गरेको छ ।