देखाइ र भोगाइले जन्माएको गीत ‘मेरो पनि होइन र यो देश ?’
काठमाडौं। अहिले एउटा प्रश्न चर्चामा छ , ‘मेरो पनि होइन र यो देश ?’ गायक प्रकाश सपुत र समूहको यस प्रश्नमा लय मिलाएका छन् देशभरका आम मानिसले जसले देशमै रहेर पनि नागरिक हुनुको अनुभूति संगालेका छैनन्।
हुन त एउटा गीतको बोल हो ‘मेरो पनि होइन र यो देश ?’ तर, त्यही एउटा गीत हजारौंको आवाज बनिदिएको छ। आवाज बनेको छ र त सार्वजनिक भएको केही घण्टामै युट्युब ट्रेन्डिङमा उक्लियो। सामाजिक सञ्जालमा चर्चा बटुल्यो।
देशको राजनीतिक उथलपुथल, महामारीबिच आम जनताले भोगेको अभाव, शिक्षा स्वास्थ्यजस्ता सेवाका लागि संघर्ष, विभेद, बेथिती र निराशा- यस्ता विषयले निकै निराश बनाएको रहेछ प्रकाशलाई। त्यसैले यस्ता समस्यालाई समेछेर राष्ट्रिय भावको गीत बनाउन मन लागेको रहेछ। आफूले अनि आफ्ना वरपरकाको भोगाइ र अनुभव संगाले गीत लेखे। भाका र संगीत भरे। गाए पनि आफै।
नेपालमा गर्न सक्नेलाई राम्रो पनि छ तर नसक्नेको अवस्था दयनीय छ। कसैलाई यो देश ठिक लाग्छ, कसैलाई लाग्दैन। त्यो भावना हुँदाहुँदै पनि हामी बिचमा सामाजिक विविधता, सांस्कृतिक विविधता, सुन्दरता र आत्मीयता छ,’ सपुतले गीतको रचना गर्भबारे सुनाए,’नेपालको सांस्कृतिक सुन्दरताभित्रको नेपाली नागरिकहरुको दुस्ख, पिडा र वेदनालाई समेट्ने प्रयासले यो गीत जन्मेको हो।
गीतको शीर्षक त केही वर्षअघि नै डायरीमा टिपेका थिए। त्यसैमा बिस्तारै मिल्दो शब्दहरूको लय मिलाउँदै गए। आफूलाई थेगो बनाएर टुक्का समेट्न र स्टोरी बुन्न भने निकै समय लाग्ने बताए।