स्पष्ट अंकगणित तयार नभएसम्म कांग्रेसले अविश्वासको प्रस्ताव ल्याउन हतार नगर्ने


नेपाली कांग्रेसले स्पष्ट बहुमत नपुग्दासम्म प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन हतार नगर्ने भएको छ ।

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आइतवार बसेको पदाधिकारी बैठकले आफ्नो पक्षमा स्पष्ट बहुमत नपुग्दासम्म अविश्वासको प्रस्ताव ल्याउन नहुने निश्कर्ष निकालेको हो । गत चैत्र २० गते बसेको कांग्रेस केन्द्रीय समिति बैठकले प्रधानमन्त्री ओलीको राजीनामा माग गर्दै आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको थियो । कांग्रेस उपसभापति विमलेन्द्र निधिले संख्याको ग्यारेन्टी नहुन्जेलसम्म कांग्रेसले प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव नल्याउने बताएका हुन् ।

‘नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकको निर्णय हो प्रधानमन्त्रीले राजीनामा दिनुपर्दछ र कांग्रेसको नेतृत्वमा सरकार गठनको पहल गर्दछौँ भनेर हामीले भनेका छौं,’ निधिले भने, ‘पहल त हामीले गरिरहेका छौं, पहल गर्दा त्यो संख्या पुगिरहेको छैन, संख्या नपुग्दा, संख्याको ग्यारेन्टी नहुँदा अविश्वासको प्रस्ताव दर्ता गर्नु बुद्धिमानी हुँदैन ।’

माओवादी केन्द्रले ओलीविरुद्ध अविश्वासको प्रस्तावका लागि कांग्रेससँग आग्रह गरिरहेको छ । ‘जबसम्म संख्याको ग्यारेन्टी हुँदैन, तबसम्म अविश्वासको प्रस्ताव राख्ने कुरै हुँदैन । अविश्वासको प्रस्ताव राखेर फेल भइसकेपछि एक वर्ष राख्न पाइँदैन, आफैँ खाडलमा परिन्छ । त्यो थाहा हुँदाहुँदै, जान्दाजान्दै पूर्ण तयारी नगरी अविश्वासको प्रस्ताव राख्ने कुरा छैन,’ निधिले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *