ललितपुरबाट हराएको मध्यकालीन नेपाली मूर्ति अमेरिकामा भेटियो


काठमाडौं । ललितपुर महानगरपालिका-१६ स्थित नारायण मन्दिरमा रहेको मूर्ति हराएको ३७ वर्षपछि फेला परेको छ । संयुक्त राज्य अमेरिकामा फेला परेको मूर्ति बिहीबार पुरातत्व विभागले ललितपुर महानगरपालिकालाई हस्तान्तरणसमेत गरेको छ । पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनलाई मूर्ति हस्तान्तरण गरे ।

सो मूर्तिलाई हालका लागि पाटन सङ्ग्रहालयमा सुरक्षितरूपमा राखिने भएको छ । मन्दिरमा आवश्यक सुरक्षाको प्रबन्धपछि मन्दिरमा प्रतिस्थापन हुने बताइएको छ । महानगरपालिकाको मोमुडु गल्लीस्थित नारायण मन्दिरमा वासुदेव कमलाज (लक्ष्मीनारायण) को मूर्ति रहेको थियो । जम्मा ७० किलोग्राम तौल रहेको मूर्ति सन् १९८४ मा हराएको विभागले जनाएको छ । मध्यकालीन नेपाली मूर्तिकलाको नमूनाका रूपमा रहेको र प्रस्तरबाट बनेको मूर्ति १५औँ शताब्दीको मानिन्छ ।

सन् २०२० मा सो मूर्ति अमेरिकाको टेक्ससस्थित डल्लास सङ्ग्रहालयमा रहेको जानकारी प्राप्त भएको थियो । त्यसपछि नै मूर्तिका बारेमा छलफल भएर फिर्ता ल्याउन प्रक्रिया शुरु भएको थियो । विभागले मूर्तिका बारेमा आवश्यक जानकारी सङ्कलन गरेर संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयमार्फत परराष्ट्र मन्त्रालय पठाएको थियो । प्रमाणका आधारमा अमेरिकास्थित नेपाली दूतावासको अग्रसरतामा सम्झौता भई मूर्ति फर्काउन पहल भएको विभागले जनाएको छ ।

विसं २०७७ चैत ३१ मा मूर्ति नेपाल फर्काइएकामा बिहीबार नै विभागले जिम्मेवारी लिएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले सबैको समन्वयमा हराएको मूर्ति फर्काउन सकिएको बताए । मूर्ति फर्कंदा हराएको छोरो घर फर्किएजस्तै भएको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *