तीन जिल्ला जोड्ने तीनमुखे पुल निर्माण कार्य शुरू
सरकारले तुइन विस्थापित गरी झोलुङ्गे पुल निर्माण गरेसँगै अहिले विशेष प्रकारको पुल निर्माण गर्न थालेको छ ।
भौगोलिक विकटता रहेका स्थानमा आवागमन सहज पार्दै धार्मिक तथा पर्यटकीय दृष्टिले समेत महत्व राख्ने गरी सरकारले विशेष पुल निर्माण गर्न थालेको हो । त्यसलाई सरकारले विशिष्टिकृत पुलको नामकरण गरेको छ । त्यस्ता पुल पर्यटकीय पूर्वाधारका लागि समेत उपयोगी हुनेछन् ।स्थानीय पूर्वाधार विभागका महानिर्देशक ईश्वरचन्द्र मरहठ्ठाले भौगोलिक विकटता रहेको क्षेत्रमा दैनिक कठिन यात्रा गर्दै गुजारा चलाउन बाध्य भएका नागरिकलाई आवागमनमा सहज पार्दै धार्मिक र पर्यटकीय दृष्टिले समेत महत्व राख्ने गरी सरकारले विशिष्टिकृत पुल निर्माण गर्न लागेको बताए ।
उहाँका अनुसार स्याङ्जा, गुल्मी र पाल्पा गरी तीन जिल्लालाई एउटै झोलुङ्गे पुलले जोड्ने उद्देश्यले रिडी धाममा तीनमुखे पुल बन्दै छ । यस आर्थिक वर्षभित्रै उक्त पुल निर्माण गरिसक्ने गरी स्थानीय पूर्वाधार विभागले काम धमाधम अगाडि बढाइरहेको छ ।