धादिङका विकट गाउँपालिकामा टेलिमेडिसिन सेवा सञ्चालन गरिने
काठमाडौं। धादिङमा टेलिमेडिसिन सेवा सञ्चालनका लागि बेलायतमा रहेका नेपाली जुटेका छन्। टेलिफोन र इन्टरनेटमार्फत स्वास्थ्य परामर्श दिइने उक्त सेवा उपलब्ध गराउन बेलायतस्थित स्वीनफेन च्यारिटेबल ट्रष्टले सहयोग गर्ने भएको हो।
धादिङको विकट रुबी भ्याली, गङ्गाजुमना, खनियाबास र नेत्रावती डेम्बजोङ गाउँपालिकामा टेलिमेडिसिन सेवा लैजाने सम्बन्धमा शनिबार सरोकारवालाबीच छलफल भएको हो।छलफलपश्चात रामशरण सिम्खडाको संयोजकत्वमा एनआरएनए यूके अध्यक्ष पुनम गुरुङ, लेफ्टिनेन्ट चन्द्र गुरुङ, धादिङ नुवाकोट समाज यूकेका धन तामाङ र अन्तर्राष्ट्रिय धादिङ समाजका वरिष्ठ उपाध्यक्ष दिनेश तामाङ सदस्य रहेको एक सञ्चालक समिति गठन गरिएको छ।
छिट्टै सञ्चालक समितिको बैठक बसी सेवा सुरु गर्ने लक्ष्य रहेको संयोजक सिंखडाले बताए। सम्बन्धित क्षेत्रमा विद्युत्, मोबाइल, कम्प्युटर, इन्टरनेटलगायत आवश्यक आधारभूत पूर्वाधार तयार भएलगत्तै सेवा सञ्चालन गर्ने योजना बनाइएको छ।