वसन्त आरोहणः दुई आरोही समूहलाई अनुमति
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले वसन्त यामको आरोहणका लागि दुई आरोही समूहलाई ‘एक्सिपिडिसन पर्मिट’ दिएको छ । विभागले गोरखामा पर्ने मनास्लु हिमाल (८,१६३ मिटर) र सोलुखुम्बुमा पर्ने नुप्से (७,८६४ मिटर) आरोहणका लागि अनुमति जारी गरेको छ । नुप्सेमा चार र मनास्लुमा एक जनाको आरोही टोली छन् ।दुई आरोही समूहलाई अनुमति जारी गरिएको र अन्य धेरै आरोहीले आरोहण अनुमतिका लागि विभाग समक्ष निवेदन दिएको विभाग, पर्वतारोहण शाखाका शाखा अधिकृत भीष्मराज भट्टराईले जानकारी दिए ।
उनका अनुसार आरोहण अनुमति माग्ने आरोहीमा अधिकांशले सगरमाथा र अन्नपूर्ण हिमाल आरोहण गर्न चाहेका छन् ।
आरोहणकै लागि अहिले विभागमा ५० भन्दा बढी अनअराइभल भिसाका लागि विभिन्न मुलुकका आरोहीले निवेदन दिएको विभागले जनाएको छ । वसन्त यामको आरोहणका लागि विभिन्न कम्पनीमार्फत धमाधम आरोहीले निवेदन दिएका हुन् ।मार्च, अप्रिल र मेको आरोहणका लागि मार्चदेखि बुकिङ शुरु भए पनि अप्रिलको दोस्रो सातासम्म विभागलाई अनुमति जारी गर्न भ्याइनभ्याइ हुन्छ । कोभिड-१९ महामारीकै बीच आरोहणमा केही आशाका सङ्केत देखिएका छन् । बहराइनी राजकुमार शेख मोहम्मद हमाद मोहम्मद अल खलिफासहितको टोलीले आगामी वैशाखमा सगरमाथा आरोहण गर्ने भएको छ । यस वर्षको वसन्त याममा सर्वोच्च शिखर आरोहणका लागि बहराइन अधिराज्यका युवराज शेख नसेर बिन हमिद अल खलिफाका भाइ शेख मोहम्मदसहित १६ जनाको टोली आज नेपाल आउने जनाएको छ । रासस