अरुण तेस्रो निर्माणले स्थानीय विकासमा तीव्रता


सङ्खुवासभा । अरुण तेस्रो जलविद्युत् परियोजनाको निर्माण कार्य भइरहँदा स्थानीय बासिन्दा लाभान्वित भएका छन् । यो परियोजना निर्माणले स्थानीय बासिन्दालाई सडक, विद्यालयलगायतका पूर्वाधार निर्माण, सीपमूलक तालिम, रोजगारी, आयआर्जन, स्वास्थ्य, शिक्षाजस्ता अवसर प्राप्त भएको छ ।

एक खर्ब ४८ अर्ब रुपियाँ लागत अनुमान गरिएको यो परियोजनाको २०७३ चैतदेखि निर्माण सुरु भएको हो । हालसम्म ४० प्रतिशत प्रगति रहेको परियोजना आगामी वर्ष सम्पन्न गर्ने लक्ष्य छ । यसको ४२८ मिटरको डाइभर्सन सुरुङ निर्माण भई पानी पथान्तरणसमेत भएको छ । कुल ११.७ किमि मुख्य सुरुङ, बाँध र विद्युत् गृहको काम भइरहेको छ ।

यो परियोजनाको चर्चा भएको करिब चार दशकपछि भारतीय सरकारको स्वामित्व रहेको कम्पनी सतलज जलविद्युत् निगमले निर्माणको जिम्मा पाएको हो । सङ्खुवासभाको चिचिला गाउँपालिकामा बाँध र मकालु गाउँपालिकामा विद्युत्गृह निर्माण भइरहेको छ । मकालु गाउँपालिकामा रहेको फाक्सिन्दा दोभानमा अरुण नदीमा ७० मिटर अग्लो बाँध निर्माण गरी नौ दशमलव पाँच मिटर ब्यासको ११.७४ किलोमिटर लामो सुरुङबाट चिचिला गाउँपालिकाको दिदिङस्थित विद्युत् गृहमा खसाइने छ ।

अरुण तेस्रो जलविद्युत् परियोजनाबाट उत्पादन हुने नौ सय मेगावाटमध्ये नेपालले २१ दशमलव नौ प्रतिशत अर्थात् १९७.१ मेगावाट निःशुल्क प्राप्त गर्ने छ भने विभिन्न शीर्षकमा तीन खर्ब ४८ अर्ब रुपियाँ आम्दानी गर्ने छ । यो निर्माण सम्पन्न भएको २५ वर्षपछि परियोजना नेपाल सरकारलाई हस्तान्तरण हुने परियोजना विकास सम्झौता (पीडीए)मा उल्लेख छ ।

आर्थिक–सामाजिक विकासमा खर्च, अरुण तेस्रो जलविद्युत् परियोजनाले स्थानीय आर्थिक गतिविधिमा पनि महìवपूर्ण योगदान दिइरहेको छ । परियोजनाको प्रवेशमार्ग निर्माणदेखि स्थानीय रोजगारी, प्रभावित स्थानीय बासिन्दालाई परियोजनाको सेयर र निःशुल्क बिजुलीजस्ता प्रावधानले स्थानीयवासी लाभान्वित हुँदैछन् । यसबाहेक स्थानीय बासिन्दाको आर्थिक–सामाजिक विकासका लागि ठूलो रकम खर्च गरिँदै छ ।

आयोजनाबाट प्रभावित स्थानीयवासीले एक अर्ब ६० करोड रुपियाँको निःशुल्क सेयर (छ प्रतिशत) पाउने छन् । परियोजना प्रभावित साबिकका छवटा गाविसलाई परियोजनाले निःशुल्क विद्युतीकरण गर्ने व्यवस्था छ । स्थानीय बासिन्दाले प्रतिमहिना ३० युनिट विद्युत् निःशुल्क प्राप्त गर्नेछन् ।

स्थानीय बासिन्दाले परियोजनाबाट लाभ लिन सुरु गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *