दयाहाङका दुई चलचित्र फेरि एक साथ प्रदर्शन हुँदै
अभिनेता दयाहाङ राईका दुई चलचित्र एक साथ प्रदर्शन हुन लागेका छन्। उनले अभिनय गरेका चलचित्र ‘दयारानी’ र ‘हात्तीछाप’ एक साथ माघ २६ गते प्रदर्शन हुँदैछन्।कलाकार राईको यो संयोग दोस्रो पटक हो। यस वर्षको सुरुकै दिन वैशाख १ मा पनि उनी अभिनित दुई चलचित्र ‘जारी’ र ‘बिहे पास’ एक साथ प्रदर्शनमा आएका थिए।दोस्रो पटक पनि उस्तै संयोग परेपछि पनि कलाकार राईले भने, ‘दुवै चलचित्र फरक स्वादका छन्। यी दुई चलचित्र निर्माण नै तीनदेखि चार वर्षको फरक छ। सायद यो समयमा व्यापार हुन्छ भन्ने लागेर होला, प्रदर्शन गर्ने निर्णयमा पूर्णतया निर्माताको अधिकार हुन्छ, दुवै चलचित्रमा फरक विषय र परिवेशलाई प्रस्तुत गरिएको छ, एउटा विशुद्ध पारिवारिक कथामा छ भने अर्कोमा समसामयिक विषयवस्तु छ, दर्शकलाई दुवै चलचित्रले निराश बनाउँदैन।’
दुई चलचित्रमा विषयवस्तु र विधाका हिसाबले फरक भए पनि अभिनेता राई भने समान छन्। ‘एकै दिन दुई चलचित्र प्रदर्शन हुँदा एउटा सफल र अर्को असफल हुँदा मलाई नै घाटा हुन्छ, यद्यपि फरक विधा र विषयले गर्दा दर्शकको मन दुवैले जित्छ भन्ने लागेको छ, यो समयमा दुई चलचित्रभन्दा बढी शुभकामना मलाई चाहिएको छ,’ राईले भने।