एक लाखभन्दा बढी गाजावासी हताहत : डब्ल्यूएचओ
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले गाजाको अवस्था बिग्रँदै जाँदा एक लाखभन्दा बढी गाजावासी हताहत (घाइते, बेपत्ता वा मृत्यु भएको) अनुमान गरेको छ । यो संख्या गाजाको २३ लाख जनसंख्याको ४.३ प्रतिशत हो ।
जेरुसेलमबाट भिडियो लिंकमार्फत संयुक्त राष्ट्रसंघको साप्ताहिक पत्रकार सम्मेलनमा डब्ल्यूएचओका प्रतिनिधि रिचार्ड पिपरकोर्नले बाँकी जनसंख्याले गम्भीर परिस्थितिको सामना गर्नुपरेको र सुरक्षा, खाना, स्वास्थ्य र न्यानोपनजस्ता आधारभूत आवश्यकता पूरा गर्न संघर्ष गरिरहेको बताए ।“मध्य गाजामा तनाव बढ्दै गएको छ, जसले विद्यमान स्वास्थ्य सुविधाको पहुँचलाई थप कमजोर बनाएको छ,” उनले भने ।
बिरामी र स्वास्थ्यकर्मी दुवैका निम्ति अस्पतालहरूमा निरन्तर पहुँचको कमीप्रति उनले गहिरो चिन्ता व्यक्त गरे । पिपरकोर्नले गाजामा ३६ अस्पतालमध्ये केवल १३ र ७३ प्राथमिक स्वास्थ्य केन्द्रमध्ये १३ मात्र सञ्चालनमा रहेका बताए ।जारी द्वन्द्व र शत्रुताले स्वास्थ्य सेवालाई अस्तव्यस्त बनाएको छ । यसले युद्धसँग सम्बन्धित चोटपटक र दीर्घरोग दुवैको पर्याप्त उपचार प्रदान गर्न चुनौतीपूर्ण भएको छ ।