युरोपको प्रतिष्ठित गोटेबर्ग फिल्म महोत्सवमा ‘गाउँ आएको बाटो’
नवीन सुब्बा निर्देशित ‘गाउँ आएको बाटो’ युरोपको महत्वपूर्ण फिल्म महोत्सव ‘४७औँ गोटेबर्ग अन्तर्राष्ट्रिय फिल्म महोत्सव, २०२४’ स्वीडेनमा छनोट भएको छ। यही महोत्सवमा सिनेमाको युरोपियन प्रिमियर हुने जानकारी निर्माण पक्षले दिएको छ। गोटेबर्ग अन्तर्राष्ट्रिय फिल्म महोत्सव स्केन्डेभियन क्षेत्रको सबै भन्दा ठूलो महोत्सव मात्र नभएर युरोपको पनि महत्वपूर्ण फिल्म महोत्सव हो।
गोटेबर्ग अन्तर्राष्ट्रिय फिल्म महोत्सव , २०२४ जनवरी २६ देखि फेब्रुवरी ४ सम्म चल्नेछ। ‘गाउँ आएको बाटो’मा दयाहाङ राई , पशुपति राई , प्रसन राई ,केशव राई , सुमित्रा राई , राज थापा र प्रेम सुब्बा लगायतका कलाकारले अभिनय रहेको छ। यो सिनेमाको टोरोन्टो फिल्म महोत्सवमा विश्व प्रिमियर भएको थियो भने वुसान अन्तर्राष्ट्रिय फिल्म महोत्सव, एशियन प्रिमियर , मामी मुम्बईमा साउथ एशियन प्रिमियर भइसकेको छ।
निर्माण पक्षले सिनेमा विश्वको एकपछि अर्को प्रतिष्ठित फिल्म महोत्सवमा छनोट हुनुलाई नेपाली फिल्मलाई विश्वले स्वीर्कान थालेको र नेपाली फिल्मको क्षमता विस्तारका रुपमा बुझ्न सकिने प्रतिक्रिया दिएको छ।
राई जातिको सामाजिक पृष्ठभूमिमा बनेको यस फिल्ममा गाँउमा सडक आए पछि बाबु छोराको सम्बन्धमा आउने उतारचढावलाई नियाल्ने प्रयास गरिएको छ। सामुदायिक लगानीको अवधारणामा यो फिल्म निर्माण भएको हो।