फिल्म ‘११ः५५’को निर्माण घोषणा,महेश र सृष्टि मुख्य भूमिकामा
नेपाली कथानक चलचित्र ‘११ः५५’ निर्माणको घोषणा गरिएको छ । क्राइम, थ्रिलर विधामा निर्माण हुने चलचित्र केशव पाण्डेको कथा र निर्देशनमा तयार हुनेछ ।
चलचित्रमा महेश त्रिपाठी, सृष्टी श्रेष्ठ, सागर खनाल, करिष्मा श्रेष्ठ, विशाल पहारी, बुद्धी तामाङलगायत कलाकारको अभिनय रहनेछ ।
निर्देशक पाण्डेसँगै एमएस अग्रज र शेखर ज्ञवालीको पटकथा लेखन रहेको छ ।
अभिनेत्री सृष्टी श्रेष्ठले कथाले नै आफूलाई आकर्षित गरेको बताइन् । “मैले कथा पढेपछि अगाडि के होला ? भनेर जिज्ञासु बन्थें । यो चलचित्रमार्फत हामी पात्रको रूपमा चिनिने छौं । यो मेरो करिअरलाई अगाडि बढाउने चलचित्र बन्नेछ।” उनले भनिन् ।
अभिनेता त्रिपाठीले आफूले नयाँ भूमिका प्राप्त गरेको बताए । “मैले अहिलेसम्म आफूलाई प्रस्तुत गर्न नपाएको भूमिकाले आकर्षित गरेर सहकार्य सम्भव भएको हो,” उनले भने ।
चलचित्र ‘११ः५५’ मा ६ जनाको कथा देखाइनेछ । आफ्नै विशेषता बोकेका व्यक्तिले निम्त्याउने स–साना घटनाक्रमले सिर्जना गर्ने परिस्थिति चलचित्रको मुख्य कथा हो ।