एनसेलको खरिदबिक्री छानबिन गर्न समिति गठन हुने
एनसेलको सेयर खरिदबिक्री प्रकरणबारे विस्तृत छानबिन गर्न समिति गठन हुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको सत्ता गठबन्धनको बैठक लगत्तै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले वक्तव्य जारी गर्दै छानबिन समिति गठन हुने जनाएको हो ।
विज्ञप्तीमा शेयर खरिदबिक्रीको सत्यतथ्य पत्ता लगाउन आगामी मन्त्रिपरिषद् बैठकले उच्चस्तरीय छानबिन समिति गठन गर्ने उल्लेख गरिएको छ ।
सरकारका प्रवक्ता समेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माद्वारा जारी विज्ञप्तीमा छानबिनबाट कुनै अनियमिता भएको पाइएमा सम्बन्धित सबैलाई तत्काल कानुन बमोजिम कडा कारबाही गरिएको छ । शर्माले अहिलेसम्म बाहिर आएका सूचनाहरुले छानबिन गर्न आवश्यक देखिएको समेत उल्लेख गरेकी छन् ।
उनका अनुसार प्रधानमन्त्रीले सोमबार नै छानबिन गर्न निर्देशन दिइसकेका छन् । दूरसञ्चार प्राधिकरणले आफैंले सोधीखोजी गरेपछि एनसेलले मंगलबार जवाफी पत्र पठाएको समेत बताइएको छ ।
यसअघि सत्तारुढ गठबन्धनको बैठकमा एनसेलको स्वामित्व खरिदबिक्री अस्वाभाविक, जालसाझीपूर्ण रशंकास्पद भएको भन्दै छानबिन गर्ने सहमति भएको थियो ।
बैठकपछि नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले कानुन अनुसार सरकारी स्वीकृति लिएर कम्पनी खरिदबिक्री गर्नुपर्ने भएपनि त्यो नभएको कुरामा दलहरु एकमत भएको जानकारी दिए । बैठकले एनसेलको स्वामित्व खरिदबिक्री शंकास्पद रहेकाले सरकारले तत्काल छानबिन गर्नुपर्ने सहमती भएको उनले बताए ।
बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री प्रकाशशरण महत, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालगायतको उपस्थिती थियो ।
मलेसियन कम्पनी आजियटाले शुक्रबार एनसेलको सेयर स्वामित्व बिक्री गरेको थियो ।