सरकारले पुषसम्म थप ३१ अर्ब रुपैयाँ आन्तरिक ऋण काढ्ने


सरकारले चालू आर्थिक वर्ष २०८०र८१ को दोस्रो त्रैमास अर्थात्‌ कात्तिकदेखि पुससम्म ३१ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । पहिलो त्रैमासमा सरकारले ९७ अर्ब ३१ करोड आन्तरिक ऋण उठाएको थियो ।नेपाल राष्ट्र बैंक मातहतको मौद्रिक व्यवस्थापन विभागले मंगलबार संशोधित आन्तरिक ऋण निष्काशन तथा बोलकबोल तालिका प्रकाशन गरेको हो । तालिकामा उल्लेख भएअनुसार सरकारले दोस्रो त्रैमासमा ट्रेजरी बिल र विकास ऋणपत्र मात्रै जारी गर्दैछ ।

९१ दिने ट्रेजरी बिलबाट ३ अर्ब र १८२ दिने ट्रेजरी बिलबाट ७ अर्ब रुपैयाँ उठाउने सरकारको लक्ष्य छ । ट्रेजरी बिल एक वर्षवा एक वर्ष भन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । ट्रेजरी बिलहरू अवधिको आधारमा २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ किसिमका हुन्छन् । सरकारले पहिलो त्रैमासमा ३६४ दिने ट्रेजरी बिल जारी गरेर ५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाएको थियो ।

दोस्रो त्रैमासमा सरकारले तीनै अवधिका विकास ऋणपत्र जारी गर्दैछ । ५ वर्षे, ६ वर्षे र ८ वर्षे विकास ऋणपत्र जारी गरी सरकारले तीन महिनामा कूल २१ अर्ब आन्तरिक ऋण उठाउन लागेको हो ।

विकास ऋणपत्र दुइ वर्षभन्दा माथि अर्थात् मध्यम तथा दीर्घकालीन अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने सरकारी ऋणपत्र हो । हाल नेपाल राष्ट्र बैंकबाट निष्कासन भएका विकास ऋणपत्र ३ वर्षदेखि १५ वर्षअवधि सम्मका रहेका छन् ।यो त्रैमासमा सरकारले नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र भने जारी नगर्ने भएको छ ।

चालू आर्थिक वर्षभित्र सरकारले कूल २ खर्ब ४० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउँदैछ । कूल आन्तरिक ऋणको ३३।३० प्रतिशत अर्थात्‌ ८० अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य राखेको पहिलो त्रैमासमै सरकारले ९७ अर्ब ३१ करोड रुपैयाँ उठाइसकेको छ । सरकारले दोस्रो त्रैमासमा ३१ अर्ब, तेस्रो त्रैमासमा ४७ अर्ब ६९ करोड र चौथो त्रैमासमा ६४ अर्ब आन्तरिक ऋण उठाउँदैछ ।

चालू आर्थिक वर्ष २०८०र८१ को बजेट वक्तव्यमा सरकारले १२ खर्ब ४८ अर्ब रुपैयाँ राजस्व, ४९ अर्ब ९४ करोड वैदेशिक अनुदान, २ खर्ब १२ अर्ब रुपैयाँ बाह्य ऋण र २ खर्ब ४० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *