सोमबारदेखि कोरला नाका सञ्चालनको तयारी
सोमबारदेखि कोरला नाका सञ्चालनको तयारी भएको छ । चार वर्षपछि पुनःसञ्चालनको तयारी भएपछि मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित कोरला नाका सोमबारदेखि सञ्चालन गर्ने तयारी गरिएको हो ।
लोमान्थाङका जनप्रतिनिधि र सशस्त्र बोर्डर आउट पोष्ट (बिओपी)को रोहबरमा चीनले दशगजा क्षेत्रको नेपाली भूमिमा कन्टेनर सुविधाको पूर्वाधार संरचना निर्माण गरेको छ । लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्वु गुरूका अनुसार २० फिट लम्बाइ र दश फिुट चौडाइका झ्याल र ढोका भएका सिसाबाट बाहिर हेर्न सकिने पाँच प्रिफेव कन्टेनर निर्माण भएको छ ।
चीनले उपलब्ध गराएको कन्टेनरमा सुरक्षा निकायको टोली र कोरलानाका जाने पर्यटक प्रतिकूल मौसम हुँदा आश्रय लिन सक्नेछन्। भन्सारको कारोबार तथा जाँच लोमान्थाङ–२ नेचुङको कार्यालयबाट गर्ने तयारी भएको छ ।
लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दा परिचयपत्रका आधारमा आवतजावत गर्न पाउने मुुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्त बताउछन। प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’को असोज पहिलो साता भएको भ्रमणका क्रममा चीनले कोरलालगायत नेपालका १४ वटा व्यापारिक नाका सञ्चालनको तयारी गरेको जनाएको थियो।
नेपाल लेखिएको २०२९ सालमा गाडिएको २४ नम्बर पिल्लर छ । यो दृश्य हो कोरला नाकाको, जुन नेपालको मुस्ताङ र चीनको तिब्बतको सीमा क्षेत्रमा पर्छ । अनि यो निर्माणाधिन संरचना भन्सार कार्यालय हो ।
कोरला नाका खुल्ने चर्चा करिब एक दशक पुरानो भइसक्यो । भारतले नेपालमाथि अघोषित नाकाबन्दी लगाएको बेला यो नाका खोल्ने विषय गरमागरम बनेको थियो । राष्ट्रपतिदेखि दलका शीर्ष नेताले चीन भ्रमणमा कोरला नाका खोल्ने विषयलाई प्राथमिकतामा राखेका थिए ।
अहिले चिनियाँ पक्ष जोडतोडले नाका खोल्ने तयारीमा जुटेको छ । तर, सिमाना पारी यसरी काम भइरहँदा वारी भने चकमन्न छ । नेपालतर्फ संरचना निर्माणको काम पुरा भइसकेका छैनन ।
तत्कालीन लोमान्थाङ, छोसेर, छोनुक गाविसले २०५४ सालमा ‘आफ्नो गाउँ आफैं बनाऔं’ कार्यक्रममार्फत कोरलासम्म पुग्ने सडकको ट्रयाक खोल्न थालेका थिए । ट्रयाक खुलेकै एक दशक बितिसकेको छ ।
जोमसोमदेखि कोरलासम्म १२ खण्डमा सडक स्तरोन्नतीको काम भइसकेको छ । ३५ वटा पुल निर्माण भएका छन् । बेनी जोमसोम सडक वर्षामा बाढी पहिरोले छेक्ने र बेलाबेला अवरुद्ध हुने भएपनि जोमसोमदेखि माथि त्यस्तो छैन ।