न्यायपालिकाको जनआस्था बढाउनेगरी काम गर्छु : प्रधानन्यायाधीश श्रेष्ठ
नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिकाको जनआस्था खस्किन नदिन आफूले काम गर्ने बताएका छन् ।
मंगलबार राष्ट्रपतिसमक्ष पद तथा गोपनियताको शपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गर्दै श्रेष्ठले न्यायालयप्रति जनताको आशा र भरोसा बढाउने र न्याय मर्न नदिनेगरी आफूले काम गर्ने बताएका हुन् ।
उनले छिटो छरितो न्याय दिने काममा न्यायापालिकालाई सहयोग गर्न आग्रह गरे । प्रधानन्यायाधीश श्रेष्ठले उच्च मनोबलका साथ निर्भिक भएर काम गर्न आग्रह गरे ।
त्यस्तै उनले उच्च र जिल्ला रिक्त न्यायाधीशको नियुक्तिको पहल गर्ने पनि बताए । आफू कामु प्रधानन्यायधीश हुँदा सुरु गरेको रणनीतिक कामलाई निरन्तरता दिएर अघि बढाउने उनको भनाइ छ ।
त्यसअघि मंगलबार नै उहाले राष्ट्रपतिसमक्ष पद तथा गोपनियताको शपथ लिएका थिए । नेपालको संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले सोमबार श्रेष्ठलाई प्रधानन्यायाधीश पदमा नियुक्त गरेका हुन् ।
संसदीय सुनुवाइ समितिले सोमबार नै प्रधानन्यायाधीशमा श्रेष्ठलाई सर्वसम्मत् अनुमोदन गरेको थियो । उनी विस २०८१ असोज १९ पछि अनिवार्य अवकाश हुनेछन् ।