भदौ १५ गते नारायण रायमाझी सांगीतिक साँझ हुने
नेपाल टेलिकम नारायण रायमाझी सांगीतिक साँझ–२०८० हुने भएको छ । यही भदौ १५ गते नेपाल प्रज्ञा–प्रतिष्ठान, प्रज्ञा भवनमा नारायण रायमाझी सांगीतिक साँझ हुने भएको हो ।
कार्यक्रम दिउँसो १ बजेदेखि ७ बजेसम्म हुने राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले जनाएको छ । आज पत्रकार सम्मेलन गर्दै प्रतिष्ठानले कार्यक्रमबारे औपचारिक जानकारी दिएको हो ।
२०७९ फागुन १२, १३ र १४ गते धादिङमा सम्पन्न आठौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिले सांगीतिक साँझ कार्यक्रम आयोजना गर्ने निर्णय गरेको थियो । रायमाझी प्रतिष्ठानका सल्लाहकार हुन् । एकल साँझमा लोकगायक, संगीतकार तथा चलचित्र निर्देशक नारायण रायमाझीले आफ्ना गीतहरू प्रत्यक्ष गाउने छन् । औपचारिक रूपमा वि.सं. २०४२ सालमा कारगिल (रेलिमै) बाट आफ्नो सांगीतिक यात्रा सुरु गरेका उनका फुलबुट्टे चोलीमा, राम्दीपूल तरने बित्तिकै, राम्दीपुल तर्ने, गेटमा बेली जाई, कालो केसमा रातो रिबन, शिरमा रिबन, तिनाउ खोलामा, पसिनाले पैसा साटेर, माया पैंचो नदेउ साईंली, लाइछौ बेसन, नमुछे आमा दहीमा टीका, हाँसेर बोलीदेऊ माया, सान्नानीले झुक्कायो मलाईलगायत दर्जनौं लोकप्रिय गीत छन् ।
कार्यक्रममा देशभरका कलाकार तथा कला, गीत, संगीत, संस्कृति क्षेत्रमा रुचि राख्ने तथा लोक, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा लागेका दर्शकको उपस्थिति रहने प्रतिष्ठानले जनाएको छ । रायमाझीले निर्देशन गरेको चलचित्र परदेशी–२ को प्रचार–प्रसार सोही दिनदेखि सुरु हुने जनाइएको छ ।
लोक तथा लोकदोहोरी गीत लोक जीवनलाई प्रतिबिम्वित गरी त्यसलाई पुस्तौँपुस्ता जीवन्त राख्ने उच्चतम र मौलिक अभिव्यक्ति भएको भन्दै यसलाई पुस्तान्तरण गर्न यस्ता कार्यक्रम आवश्यक रहेको प्रतिष्ठानले जनाएको छ ।