तत्काल संसद अधिवेशन बोलाउन काँग्रेस र जसपाको माग
काठमाडौं। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले तत्काल संसद अधिवेशन बोलाउन सरकारसँग माग गरेको छ ।
जसपाका शीर्ष नेताहरु र कांग्रेस सभापति शेरबहादुर देउवाबीच बुढानिलकण्ठमा भएको भेटवार्तामा तत्काल संसद अधिवेशस बोलाउन माग गर्ने सहमति भएको हो ।निबार जसपाका नेताहरु देउवासँग भेट गर्न उनकै निवास बुढानीलकण्ठ पुगेका थिए ।
त्यस्तै छलफलमा संसदमा भएका विपक्षी दलबीच सहकार्य गरेर अगाडि बढ्ने सहमति भएको काँग्रेस नेता मिनेन्द्र रिजालले जानकारी दिएका छन् ।
रिजालले भने, ‘हिजो हामीले संसद अधिवेशन तत्काल बोलाउन भनेका थियौँ । यो विषयमा सबै विपक्षी दलसँग कुरा गर्छौ भनेको छौँ । त्यही अनुसार आज हामीले विपक्षी दल जनता समाजवादी पार्टीलाई बोलायौँ ।
आसन्न अधिवेशनमा विपक्षीको भूमिका समन्वयात्मक रुपमा अझबढी प्रभावकारी कसरी बनाउने भन्ने छलफल भयो । आउने अधिवेशन विपक्षी समन्वय गर्दै प्रभावकारी रुपमा प्रस्तुत हुन्छौँ ।’
कांग्रेसकै प्रस्तावअनुसार शनिबार भएको छलफलमा देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल र डा मिनेन्द्र रिजाल सहभागी भएका थिए भने जसपाका तर्फबाट संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराई, अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो उपस्थित भएका थिए ।