सुन्दर हरिजन मृत्यु प्रकरणमा छानबिन समिति गठन गर्न माग
रोल्पा कारागारमा मृत भेटिएका सुन्दर हरिजनको घटनाको छानबिन गर्नका लागि संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गरिएको छ ।
माओवादी केन्द्रकी सांसद अञ्जना विशंखेले प्रतिनिधिसभाको मंगलबारको बैठकमा हरिजनको मृत्यु प्रकरणमा अदालत, गृह प्रशासन जोडिएको भन्दै संसदीय छानबिन समिति गठन गर्न माग गरेकी छिन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद विशंखेले संसदीय छानबिन समिति माग गरेकी हुन् । ‘यो घटनामा न्यायालय पनि जोडिएको भएकाले संसदीय छानबिन समिति गठन गरियोस् र अपराधीलाई, न्याय संरचनासँग जोडिएकालाई छानबिनको दायरामा ल्याइयोस्’ उनले भनिन् ।
उनले भनिन्, ‘देशको सरकार, कानुन, प्रशासन कसरी चलिरहेको छ र यसलाई चलाउने ठाउँमा विराजमान भएका व्यक्तिहरूले गरिब, दलित, बालबालिकाविरुद्ध कसरी राज्यको संयन्त्र दुरुपयोग गरेर एउटा अपराधीलाई छुटाउँदो रहेछ भन्ने ज्वलन्त उदाहरण हो,’ उनले भनिन् ।
हातहतियार मुद्दामा ५ वर्ष जेल सजाय पाएका विजयविक्रम शाहको नाममा चोरीको आरोपमा १ वर्षका लागि जेल सजाय गरिएका हरिजनलाई रोल्पा कारागारमा राखिएको थियो ।