केपी ओली र माधव नेपाल संसदीय समितिमा आमने-सामने हुने
नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समिति रोजेका छन् ।नेकपा एमालेको सिफारिसमा सभामुख अग्निप्रसाद सापकोटाले ओलीलाई अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सदस्य तोकेका हुन् ।मंगलवार बसेको प्रतिनिधिसभा बैठकमा सभामुखले केही समितिका सदस्यहरूको हेरफेर गरेका छन् ।
ओलीसहित एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र प्रदीप ज्ञवालीले अन्तर्राष्ट्रिय सम्बन्ध समिति रोजेका छन् । यसै समितिमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल सदस्य छन् ।ओली प्रधामन्त्रीबाट हटेपछि कुनै समितिमा बसेका थिएनन् । अब ओली र नेपाल संसदीय समितिमा आमनेसामने हुनेछन् । माधव नेपाल संसदीय समितिको बैठकमा प्रायः उपस्थित हुने गरेका छन् ।
एमाले उपाध्यक्ष विष्णु पौडेलले अर्थ समिति रोजेका छन् । यसअघि सार्वजनिक लेखा समितिमा रहेका कांग्रेसका मीनेन्द्र रिजाल र हृदयेश त्रिपाठीले अर्थ समिति रोजेका छन् ।