विजय सुनिश्चित गरेका धनराजको घोषणा, ‘पोखरालाई पर्यटकीय राजधानी बनाउँछौंँ’
पोखरा महानगरपालिकाको मेयरमा जित नजिक पुगेका धनराज आचार्यले पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न सरकारसँग औपचारिक प्रस्ताव गर्ने घोषणा गरेका छन् ।
सत्ता गठबन्धनको तर्फबाट मेयर उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का आचार्यले ५ हजार मत गणना बाँकी छँदै विजय सुनिश्चित गरेपछि यस्तो घोषणा गरेका हुन् ।
उनले शपथ ग्रहणपछिको पहिलो निर्णय जन्मदेखि मृत्युसम्मका रजिस्ट्रेसन गर्नुपर्ने कुराहरुलाई ६ महिनाको समयावधिभित्र निःशुल्क बनाउने निर्णय गर्ने घोषणा पनि गरेका छन् । उनले महानगरपालिकाका हरेक निर्णय पोखरावासीको जीवनस्तरलाई सरल बनाउने किसिमका हुने दाबी गरे ।
‘हामी सबै निर्णयहरू भरसक सर्वसम्मत गर्नेछौँ । स्वार्थबिना निर्णय गर्छौं, जसले सर्वसम्मत हुनेछ,’ उनले भने, ‘म विगत ३७ वर्षदेखि पोखरेली राजनीतिमा काम गरेको छु ।
हाम्रो पार्टी नयाँ भए पनि २००६ सालदेखिकै लिगेसी बोकेको छ,’ उनले भने, ‘गठबन्धनमा रहेका पाँचै दलहरूको सरसल्लाह लिनका लागि संयन्त्र पनि बनाउनेछौँ ।
साथै पोखरामा रहेका सबै विज्ञहरूलाई राखेर एउटा थिंक ट्याङ्क पनि बनाउनेछौँ यस्तै उनले ५ वर्षमा पोखरा व्यवस्थित शहर हुने दाबी गरे । उनले पहिलो बैठकबाट नै फोहोर व्यवस्थापनका लागि ल्याण्डफिल्ड साइटको व्यवस्थापन गर्ने पनि बताए ।