भरतपुरको मेयरमा रेनु दाहाल पुन: निर्वाचित, उपमेयरमा कांग्रेसका अधिकारी विजयी
भरतपुर महानगरको प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । महानगर प्रमुखमा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का रेनु दाहाल र उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी विजयी भएका हुन्।
दाहालले निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का विजय सुवेदीलाई १२ हजार ४४९ मतान्तरले पराजित गरिन् । दाहालले ५२ हजार ३० मत प्राप्त गर्दा सुवेदीले ३९ हजार ५८१ मत प्राप्त गरेको प्रारम्भिक तथ्याङ्क सार्वजनिक भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले रुजु गरेर अन्तिम मत विवरण सार्वजनिक गर्न बाँकी छ । यस्तै स्वतन्त्रका उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार ७२८ मत प्राप्त गरे ।दाहाल विसं। २०७४ को स्थानीय तहको निर्वाचनमा समेत कांग्रेसको सहयोगमा महानगर प्रमुखमा निर्वाचित भएकी थिइन् । विसं २०३३ असार २३ गते भरतपुर महानगरपालिका–१४ भीमसेन नगरमा जन्मनुभएकी दाहाल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की माहिली छोरी हुन् ।
उपप्रमुखमा गठबन्धनबाट कांग्रेसका अधिकारीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का हिमला गुरुङलाई २२ हजार १९१ मतान्तरले पराजित गरेका छन् । अधिकारीले ५२ हजार ८०३ मत प्राप्त गर्दा गुरुङले ३० हजार ६१२ मत प्राप्त गरे ।
अधिकारी नेपाली कांग्रेस भरतपुर महानगर समितिको सभापति समेत हुन् ।