‘मिस नेपाल २०२०’ को उपाधी नम्रता श्रेष्ठलाई
यस बर्षको मिस नेपाल वर्ल्ड २०२० को उपाधि नम्रता श्रेष्ठले जितेकी छिन् । उनले २० जना प्रतिस्पर्धीलाई उछिन्दै उपाधी हात पारेकी हुन् । कार्यक्रमको प्रमुख निर्णायक मिखा माथेमाले सोधेको–‘कल्पना गर्नुहोस् तपाई एउटा सानो ढुंगा हो । जो पोखरीमा पर्दा सुन्दर तरंग फैलिन्छ । तपाई नेपाली महिलाको जीवनमा परिवर्तनकारी तरंग कसरी फैलाउन चाहनुहुन्छ ?’ भन्ने प्रश्नमा उत्कृष्ट जवाफ दिँदै नम्रताले ताज जितेकी हुन् । नम्रताले यो प्रश्नको जवाफमा आफ्नी आमालाई सम्झिएकी थिइन् ।पार्क भिलेजमा सम्पन्न भएको प्रतिस्पर्धामा उपाधी जितेकी नम्रतालाई पुर्व मिस नेपाल अनुष्का श्रेष्ठले ताज पहिराइदिएकी थिइन् ।
काठमाडौँकी १९ वर्षिय नम्रताले दोस्रो पटकको सहभागितामा उपाधि जितेकी हुन् । त्यस्तै मिस नेपाल सुप्रानेसनलको उपाधि सिमल कनौजियाले जितिन् भने ‘मिस नेपाल अर्थ’को उपाधि सुप्रिया श्रेष्ठले जितिन् । ‘मिस नेपाल इन्टरनेशनल’को उपाधि सन्ध्या शर्माले पहिरिइन् ।