जनशक्तिका अभावले करोडौं खर्चेर जडान गरिएका आईसीयू र भेन्टिलेटर थन्किए
म्याग्दीको बेनी अस्पतालमा स्थापना भएको भेन्टिलेटर सहितको सघन उपचार कक्ष (आईसीयू) प्रयोगमा आउन सकेको छैन। करोडौं खर्चेर जडान गरिएका महत्वपूर्ण उपकरण सञ्चालन गर्ने दक्ष जनशक्ति नभएर थन्किएका हुन् ।
गम्भीर प्रकृतिका बिरामीलाई जिल्लामै सर्बसुलभ उपचारको ब्यवस्था मिलाउन गण्डकी प्रदेश सरकारले विसं २०७६ असारमा अस्पतालमा एक करोड २५ लाख खर्चेर दुईवटा भेन्टिलेटरसहित पाँच श्यया क्षमताको आईसीयू कक्ष स्थापना गरेको थियो । ती उपकरण प्रयोगविहीन हुँदा बिरामीलाई धेरै पैसा खर्चिएर पोखरा, काठमाडौं पुर्याउनुपर्ने र हेलिकप्टर चार्टर गरेर तत्कालै जिल्ला बाहिर जान नसक्ने गरिब बिपन्नले ज्यान गुमाउनुपर्ने दुःखद अवस्था रहेको स्थानीयवासी खम थापाले बताए ।
“तत्कालै आईसीयूमा राख्नुपर्ने बिरामीलाई अस्पताल पुर्याउन हेलिकप्टर चार्डर गर्नुपर्ने अवस्था छ,” उनले भने, “हेलिकप्टर चार्टर गर्न नसक्ने कतिपय बिरामीले एम्बुलेन्स र ट्याक्सीमा पोखरा जाँदाजादै बाटोमै ज्यान गुमाउनुपरेको छ ।”