बलिउडका यी बागी निर्देशक,जो सेन्सर बोर्डलाई प्रश्न गरिराख्छन्
दिपक शर्मा
विश्वभरि यो बहस जारी छ कि सिनेमामा सेन्सर जरुरी छ कि छैन? सेन्सर बोर्ड र यसको आवश्यकता र क्षमता बारे धेरै निर्देशकले बारबार प्रश्न उठाइरहन्छ्न। सेन्सर बोर्ड माथी अनेक सवाल उठाउने एक निर्देशक अभिषेक चौबे पनि हुन् । ३० मार्च १९७७ मा उत्तरप्रदेशको फेजाबाद जिल्लामा जन्मिएका अभिषेकले आफ्नो पढाई दिल्ली बिश्वबिद्धालयबाट गरेका छन् । उनले जेभियर ईन्स्टिच्युट अफ कम्युनिकेशन बाट फिल्म र टेलिभिजन बारे विशेष कोर्स पनि गरेका छन् । यिनको फिल्मी सफर फिल्म निर्देशक विशाल भारद्वाजको सहायक बनेर शुरु भयो।
विशाल भारद्वाजले यिनी संग भनेका थिए ‘ म संग निर्देशन सिक्ने हो भने लेख्नु पनि पर्छ ‘। अभिषेकले यो कुरा स्वीकार गरे र विशालको फिल्म मकडीमा सहायक निर्देशक र लेखकका रुपमा रहे। यसपछी विशालकै अन्य फिल्महरु ओमकारा,कमिने,ब्लु उम्ब्रेला, ब्ल्ड ब्रदर्श, कमिने आदिमा पनि उनले सोही भुमिकामा काम गरे। विशाल भारद्वाजसंग धेरै वर्ष काम गरेर यिनले फिल्म निर्देशन र लेख्नको महत्वलाई राम्रोसँग बुझे ।
अभिषेकको निर्देशकिय पारी फिल्म इश्किया बाट शुरु भयो । डार्क कमेडी जानरामा बनेको यो फिल्ममा नसरुद्दिन शाह,अर्शद बारसी,बिद्या बालन जस्ता दिग्गज कलाकारको अभिनय रहेको छ। बक्स अफिसमा ठिकै तर समिक्षकले निकै तारिफ गरेको यो फिल्मको पछि सिक्वेल पनि अभिषेकले बनाए। यी दुवै सिनेमाले अभिषेक चौवे र उनको सिनेमा निर्देशन शैलीको केही परिचय दिन्छन् ।यिनको परिचय अझै बिस्तार भयो सन् २०१६ मा रिलिज भएको सिनेमा उड्ता पन्जाब मार्फत ।पन्जाबको कुनै रिहाब सेन्टरमा भेटिएका एक पात्रको कथाबाट प्रेरित भएर बनेको यो सिनेमाको आफनै पनि छुट्टै कथा छ। पन्जाबमा हुने हेरोइन र ड्रग्स बारेको यो सिनेमा तत्कालीन पन्जाब सरकारको आखामा त परेयो नै यो सिनेमा सेन्सर बोर्डको कर्कश नजरबाट पनि पीडित बन्यो। यो फिल्मबाट अभिषेक चौबे सेन्सर बोर्डका सबभन्दा बागी निर्देशक बने।
उड्ता पन्जाबको ८० भन्दा ज्यादा सिन माथी सेन्सर बोर्डको आपत्ति थियो। यो सिनेमाले सेन्सर बोर्ड र यसको क्षमता र भुमिका माथी ठुलो विवाद सिर्जना गरेको थियो। सेन्सरका सदाबहार विरोधी चौबे भन्छन् ‘म यो सिनेमामा सेन्सर हुने अवधारणाकै विरोधी हु’। मेरो प्रश्न छ त्यहाँ बस्नेहरुले सिनेमा र यसको विविधता कति बुझेका छन् ?के ति सिनेमाका बिज्ञ हुन् । कुन सिनेमालाइ कुन तहमा हेरेर तिनले निर्णय गर्छन् र तिनको निर्णय किन प्रश्नभन्दा बाहिर पर्नुपर्ने?’
उड्ता पन्जाबले झेलेको सास्ती र पिडाको यो कथा अझै थप दुखान्त बन्दै गयो ।जब सिनेमा सेन्सर बोर्ड भन्दा बाहिर निस्केर अदालतसम्म पुग्यो। एउटा सिर्जनात्मक काम जसमा सयौंको पसिना र योगदान हुन्छ जसको निर्माणमा समय,लगानी र सपना परेको हुन्छ त्यो समय बास्तबमै पिडादायी हुन्छ जब उसले वैधता बारे यो तहसम्मको रस्साकस्सी झेल्छ। अभिषेक चौबेले भनेका छन् ‘त्यो फिल्म रिलिजको १० दिन अगाडि सम्म त्यसको भाग्य केवल वकिल र न्यायाधीशको हातमा पुगेको थियो । सिनेमाको न्यायाधीश दर्शक हुनुपर्ने सत्यलाई पन्छाउदै सिनेमा अडडा अदालत धाउदै थियो’। यो दौरान यस फिल्मका निर्माताद्वय अनुराग कश्यप र विशाल बहालले जुन न्यायीक लडाइँ जारी राखे त्यो अविस्मरणीय छ। अनुराग कश्यपको सेन्सर संघर्षको आफ्नो छुट्टै इतिहास पनि छ। अनुराग कश्यप आफैं पनि सैन्सर बोर्डका सदाबहार बागी फिल्ममेकर हुन्।यो फिल्म रिलिज र यसको जस सबै अभिषेकले कश्यप र बहाललाई नै दिएका छन् ।
निकै कठिन संघर्ष गरेर फिल्म पास भयो तर सिनेमाको दुखान्तमा एक दुख और बांकी नै थियो। फिल्म रिलिजको ४८ घण्टा पुर्व नै यो सिनेमाको पाइरेसी पनि भयो। जे जति दुख भोगे पनि आखिर सिनेमा दर्शकसम्म पुग्यो। शाहिद कपुर,आलिया भट्ट ,करिना कपुर र पन्जाबी कलाकार दिलजित दोसन्जको अभिनय रहेको फिल्मलाई समिक्षकले बेजोड भनेर तारिफ गरे। शाहिद कपुर र आलिया भट्टले आफ्नो क्यारियरकै एक उम्दा फिल्म खेले।
यो सिनेमाले आफुमा धेरै परिपक्वता ल्याएको अभिषेक स्वीकार गर्छन् ।उनले भनेका छन् म अनुराग र विकास प्रती जिवनभर आभरी छु कि उनिहरुले यो फिल्मप्रती विश्वास गरिरहे। कोणकोणा सेन शर्माको फिल्म अ डेथ इन अ गुन्जबाट यिनी फिल्म निर्माताको रुपमा पनि अगाडि बढेका छन् ।यो सिनेमाले धेरै फिल्मफेश्टिवलहरुमा अवार्ड पनि जितेको छ। अभिषेकले यसपछि सोनचिडिया पनि बनाएका छन् । सन् २०१९ मा रिलिज भएको यो फिल्म चम्बलको डाकु र तिनले गर्ने डकैती विषयमामा बनेको हो।यो सिनेमामा पात्र मार्फत उनले भारतमा ब्याप्त जातीय र लैगिक विभेद,पुलिस प्रशासन र कोइ किन बिद्रोही बन्छ जस्ता सवाल उठाएका छन्। समाजले डाकु भनेर तिरस्कार गरेपनी उनिहरु आफू सत्य,न्याय र सम्मानका लागि कार्य गरिरहेको ठान्छन्।सुशान्त सिह राजपुत,मनोज बाजपेयी, आशुतोष राणा जस्ता माझिएका कलाकारको अभिनय रहेको यो फिल्मले केही अवार्ड पनि जितेको छ। पछिल्लो समय उनले नेटफिल्क्शका लागि रे नामक वेभसिरिजको एक सेग्मेन्ट निर्देशन गरेका थिए।
अभिषेकको सिनेमामा महिला पात्र र तिनको संबेदनसिलतालाई निकै आदरका साथ राखिएको हुन्छ। विशाल भारद्वाजले लगाइदिएको बानीले गर्दा यिनी अक्सर आफ्नो सिनेमामा प्राय सह–लेखन पनि गर्छन् ।उनी भन्छन् म लेख्न रुचि मान्छु। प्रत्येक दिन विहान उठेपछि केही समय म लेखनलाई छुटुयाउछु। लेखन मेरोलागि अब एक आदत बनेर रहेको छ। उनले आफ्नो सिनेमाको लेखन प्राय गरेर लेखक सुदिप शर्मासंग गर्छन् ।सुदिप तिनै हुन् जसले पाताल लोक जस्तो वेभसिरिज बनाएका छन् ।बलिउडमा काम गर्ने भए पनि उनी आफुलाई सेलिब्रेटी निर्देशक मान्दैनन् ।उनी भन्छन् म कसरी सेलिब्रेटी? मेरो पनि मात्र २०६ बटा नै हड्डी छ मित्र ।
सेलिबेट्री त परको कुरा भयो एक अन्तर्वार्तामा त उनले भनेका छन् बलिउड सिनेमा इन्डस्ट्रीमा काम गरे पनि मलाई आफू एक क्षेत्रीय निर्देशक जस्तो महसुस हुन्छ।बलिउडभित्र रहेको कडा चमकतालाई म सुट नभएको पनि हुन सक्छ वा त्यसको रसायन मैले नबुझेको हुन सक्छु।उनी भन्छन् यदि सिनेमाको कुनै भूगोल,भाषा र सिमाना हुदैन भने सिनेमामा कुनै विभेद पनि हुनुहुदैन।खैर यो त आदर्शबादी कुरा होला?
यिनका फिल्मलाई बलिउडले अफ बिट सिनेमा भनेर वर्गीकरण गर्ने गर्दछ तर उनलाई यस्ता कुरासँग रत्तिभर चासो छैन।कन्टेन्ट केन्द्रित सिनेमा बनाउने यी निर्देशकले ओमकारा सिनेमाबाट फिल्मफेयरको बेस्ट डायलाग लेखकको अवार्ड पनि जितेका छन् ।प्राय सत्य घटनामा आधारित सिनेमा बनाउने यी निर्देशक रियल लोकेशनमा फिल्म सुट गर्न मनपराउछ्न।