नेपालमा माघ दोस्रो सातासम्म कोभिडको तेस्रो लहर आउन सक्छ
नेपालमा पछिल्लो केही दिनयता कोभिड–१९ को संक्रमण बढ्दो क्रममा छ । दैनिक थपिने संक्रमितको संख्या सबैजसो प्रदेशमा बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाउँछ ।
विशेषगरी काठमाडौं उपत्यकामा थपिने संक्रमितको संख्या निरन्तर उकालो लाग्दो छ । छिमेकी मुलुक भारतमा नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण तीव्र रूपमा फैलिनु र यहाँ संक्रमित बढ्नुले नेपालमा ओमिक्रोनकै कारण माघ दोस्रो सातासम्म कोभिड–१९ को तेस्रो लहर आउन सक्ने आकलन विज्ञहरूले गरेका छन् ।
यस्तो छ पुसका २० दिनको तथ्यांक
नेपालमा यही पुसका २० दिनमा पाँच हजार ६१ जना कोभिड–१९ संक्रमित थपिएका छन् । पुस १९ गतेसम्म देशभर सक्रिय संक्रमितको संख्या पाँच हजार ९४ रहेकोमा सबैभन्दा धेरै काठमाडौं उपत्यकामा दुई हजार २०८ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ ।इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार भारतसँग सीमानाका जोडिएका जिल्लाहरूमा कोभिड–१९ संक्रमित देखिने दर बढेको छ । महाशाखाले नेपालमा ओमिक्रोन संक्रमण देखिनु र सीमानाकामा ‘पोजिटिभ केस’ बढ्नुलाई आधार मानेर संक्रमण बढ्दै जाने संकेत गरिसकेको छ । यो अवस्थामा विज्ञहरूले पनि माघको दोस्रो सातादेखि कोभिड–१९ संक्रमणको तेस्रो लहर आउन सक्ने आकलन गरेका छन् ।