केही नेताहरु केपी ओलीको जालझेल र षडयन्त्रमा फसे : माधवकुमार नेपाल
प्रस्तावित दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफूपक्षीय कार्यदलका सदस्यसहित केही नेताहरु केपी ओलीको जालझेल र षडयन्त्रमा फसेको बताएका छन् ।
सोमबार साँझ चन्द्रागिरिमा केन्द्रीय सदस्य र सांसदहरूलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीसँग वार्ता गर्न बनेको कार्यदलका सदस्य उनकै जालझेलमा परेको बताएका हुन् ।आफूहरुको दल दर्ता रोक्नका लागि ओलीसँगै कार्यदलका सदस्यहरु पनि लागि परेको बताए।सम्बोधनका क्रममा नेपालले भने, ‘यसपाली पनि केही साथी ओलीको जालझेलमा फसेका छन्, उनीहरुका ‘बा’ के के कुरा मान्न तयार भएका रहेछन् एकदुई दिनमै देखिन्छ।’
नेपाल पक्षीय नौ नेताहरुले आज ओली निवास बालकोटमा भएको छलफलमा ‘आफूहरु एमालेमा नै रहेको र आगामी दिनमा पनि एमालेमा नै रहेने’ बताएपछि नेता नेपालले आफू निकटहरुसँग यस्तो प्रतिक्रिया दिएका हुन्।