कक्षा १२ को परीक्षा छिटो सञ्चालन गर्न सरकारको ध्यानाकर्षण


संसद्को शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ को परीक्षा छिटो सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गरेको छ । आज बसेको समितिको बैठकमा समिति सभापति जयपुरी घर्तीले कक्षा १२ को परीक्षा छिटोभन्दा छिटो गर्न आग्रह गरेकी हुन् ।

उनले दुई–दुई पटक कक्षा १२ को परीक्षा स्थगित हुनुलाई समितिले अस्वभाविक रूपमा लिएको समेत बताइन् । “बजार, यातायात, अफिसजस्ता सबै कुरा खोल्न हुने तर, कक्षा १२ को परीक्षा गरे कोरोना सर्ने रु,” उनले प्रश्न गरिन् । परीक्षाको टुङ्गो नलगाग्दा विद्यार्थीको मनोविज्ञानमासमेत असर परेको उनले बताइन् । “प्राविधिक कारणले आजै निर्देशन दिन नसकेको हुँदा अब छिटो परीक्षा गरेर निकास दिन अनुरोध गर्छु,’ उनले भनिन् ।

बैठकमा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले परीक्षाबारे बोर्डलाई जानकारी नदिई परीक्षा स्थगित गरेको बताए । उनले परीक्षाको तयारी सकिएपछि परीक्षा रोक्नुपरेको भन्दै ‘कुन भेरियन्टका कारण परीक्षा रोक्नुपरेको हो’ भनी प्रश्नसमेत गरे ।

शिक्षा मन्त्रालयका प्रवक्ता दिपक शर्माले परीक्षा गराउन सरकार सक्षम भएको भन्दै एकपटकमा नसके दुई चरणमा भएपनि परीक्षा गराउन सकिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *