तीन कम्पनीको संस्थापक शेयर आजदेखि लिलामीमा
एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको तीन कम्पनीको संस्थापक शेयर पुनः लिलामीमा आएको छ । आरएमडीसी लघुवित्तको ३ लाख ६ हजार ६५ कित्ता, नागरिक लगानीकोषको ३ लाख ५० हजार ३६९ कित्ता र मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ८६ हजार ३६९ कित्ता संस्थापक शेयर भदौ १८ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिने गरी लिलामीमा आएको हो ।
यसअघि पनि विभिन्न समयमा लिलामीमा विक्री खुला गरी वितरण हुन नसकेको यी शेयर कम्पनीहरुले पुनः लिलामीमा विक्री गर्न लागेका हुन । आरएमडीसी लघुवित्तको शेयरको मूल्य प्रतिकित्ता रू। ६०३, नागरिक लगानीकोषको प्रतिकित्ता रू. १ हजार ४१० र मेरो माइक्रोफाइनान्सको प्रतिकित्ता रू. ५७६ तोकिएको छ । यी शेयर खरिद गर्न चाहने इच्छुक जो कोही व्यक्ति वा संस्थाहरुले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।
मेरो माइक्रोफाइनान्स र नागरिक लगानीकोषको शेयर खरिदका लागि न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ भने आरएमडीसी लघुवित्तको शेयर खरिदका लागि न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।