अशक्त र ज्येष्ठ नागरिकलाई घरमै पुगेर खोप दिन सर्वोच्चको आदेश
सर्वोच्च अदालतले अस्पतालसम्म पुग्न नसक्ने अशक्त र ज्येष्ठ नागरिकलाई घरमै पुगेर कोरोनाविरुद्धको खोप लगाउन अन्तरिम आदेश दिएको छ । अधिवक्ता प्रवेश केसीले दायर गरको रिटमा न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले सरकारका नाममा यस्तो आदेश जारी गरेको हो ।
संवैधानिक हकको प्रचलनको परिप्रेक्षमा खोप केन्द्रमा जान असमर्थ ज्येष्ठ नागरिक, विस्तारामा रहेका हिडडुल गर्न नसक्ने, अस्पतालले पहिचान गरेका दिर्घ रोगीहरू तथा फरक क्षमता भएका, दुवै आँखा नदेख्ने व्यक्तिहरूसमेतका लागि राज्यले वडावडा स्तरबाट लगत संकलन गरी वा उपयुक्त अन्य माध्यमबाट पहिचान गरी घरघरमा पुगी कोभिडको खोप सेवा उपलब्ध गराउने कार्यक्रम र मनासिव समय तालिका तर्जुमा गरी सोको उपयुक्त सूचना प्रवाह गरी संवैधानिक दायित्वको निर्वाहका लागि कार्यक्रम सञ्चालन गर्नु गराउनु भनी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९(२)(क) बमोजिम विपक्षीहरूको नाममा यो अन्तरिम आदेश जारी गरिदिएको छ,” सर्वोच्चको आदेशमा भनिएको छ ।