कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ ।दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकले १४औँ महाधिवेशनको भदौ १६ देखि १९ मा हुन सक्ने या नसक्ने भन्नेबारे ठोस निर्णय हुन सक्ने नेता गुरूराज घिमिरेले जानकारी दिए ।
घिमिरेका अनुसार अब निर्धारित मितिमा महाधिवेशन असम्भव भएकाले प्रतिकात्मक तवरले सो मितिमा ७ वटै प्रदेशका केही पालिकामा सर्वसम्मत अधिवेशन गरेर पुषसम्म महाधिवेशन गरिसक्ने विकल्पमा पार्टी जान सक्नेछ ।केही कानून व्यवसायीहरुले पनि यस्तो गरेमा पार्टीको बैधतामा खासै अप्ठ्यारो नपर्ने भएकाले निर्वाचन आयोगसँग अनुमति लिने तयारी भइरहेको पनि उनले जानकारी दिए ।
सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा बुधबार बसेको पदाधिकारी बैठकले पनि भदौ १६ देखि १९ सम्म महाधिवेशन गर्न सम्भव नदेखिएकोले महाधिवेशनलाई कहिले र कसरी भन्नेबारे केन्द्रीय समितिमार्फत टुंग्याउनु पर्ने निष्कर्ष निकालेको छ ।