अझैपनि तोकिएकै मितिमा महाधिवेशन गर्न सकिने पौडेल पक्षको निष्कर्ष
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले अझै पनि पार्टीको आसन्न १४ औं महाधिवेशन तोकिएको समयमा सम्पन्न गर्न सकिने निष्कर्ष निकालेको छ ।
महाराजगञ्जस्थित पार्टीका महामन्त्री डा. शशांक कोइरालाको निवासमा सोमबार अपरान्ह बसेको पौडेल पक्षीय नेताहरुको केन्द्रिय कार्य समिति बैठकले पार्टी नेतृत्वले इमान्दार प्रयास गरे अझै पनि समयमै महाधिवेशन सम्पन्न गरेर पार्टीको वैधानिकतालाई बचाउन सकिने निष्कर्ष निकालेको हो ।
तोकिएकै समयमा पार्टीको महाधिवेशन गरेर यसको बैैधानिकतालाई अझै पनि बचाउन सकिने निष्कर्षमा आफूहरु पुगेको वरिष्ठ नेता पौडेलले बताए । उनले त्यसका लागि पार्टी नेतृत्वले इमान्दार प्रयास गर्नुपर्ने आवश्यकता समेत औंल्याए । वरिष्ठ नेता पौडेलले भने, ‘हाम्रो धारणा र सोचाइको निष्कर्ष के छ भने पार्टीको महाधिवेशन तोकिएकै मितिमा गरेर अझै पनि पार्टीको वैधानिकतालाई जोगाउन सकिन्छ । त्यसका लागि हामी सबैले इमान्दारपूर्वक प्रयास गर्नु पर्छ ।’