तेह्र बर्षमा फर्किएको खोला,कठिन समय पछि मुकाममा आइपुगेका कलाकार


हाम्रो समाज भाग्य र गणितमा खुब विश्वास गर्ने समाज हो । हिन्दु समाजमा अंक र गणितको पनि खुब खेला गरिन्छ । ज्योतिषजिवीहरु त अंककै कारण यस्तो छ र उस्तो भयो भनेर फल,अफल भन्ने गर्छन् । दिन,घडी, पला हेराएरै धेरै कुरा यहां हुन्छन् । हिन्दु समाजमा तेह्र अकंलाई धेरै अशुभ नम्बर भनिन्छ, तर कसैलाई यहि तेह्र नम्बरले न्याय पनि गर्छ ।

भनाइ छ, बाह्र बर्षमा त खोला पनि फर्किन्छ । यो भनाइको अनेक अर्थ निकाल्न सकिएला तर सबैलाई बाह्रै बर्षमा खोलो नफर्किन पनि सक्छ । तेह्र बर्ष पनि लाग्न सक्छ । तेह्र बर्षको कठिन मिहिनेत पछि मुकाममा आइपुगेका यस्तै कलाकार बारे आजको यो सानो लेख।

सिनेमामा सफल हुने कुनै फिक्स फर्मुला र समय छैन। सिनेमाको मात्र के कुरा,कलाका अन्य कुनै बिधामा पनि यो सुविधा उपलब्ध छैन । सरकारी जागिरको पो फिक्स नियम हुन्छ । कुनै पनि मान्छेले प्राप्त गरेको मुकामका पछि उसको सफलता र असफलताको सहायक कथा हुन्छन् नै । फरक त्यही हो कसैसँग त्यस्ता कथा कम हुन्छन् कसैसँग ती कम भन्दा थोरै धेरै हुन्छन् ।

कलाकार जयदिप अहलावतको आजको स्थान भन्दा अगाडिका यात्रामा पनि कतै केही सिढी थिए त कतै हताश र निराश बनाउने गौडा थिए । खास नाम जयकिशन अहलावत भएका जयदिपको जन्म फेब्ररी, ८, १९८० मा हरियाणाको रोहतकमा भएको थियो । सानै उमेरमा यिनका शिक्षक पिताले साहित्य पढ्न प्रेरित गरेका थिए । यिनले प्रेमचन्दको साहित्य सानै उमेरमा पढेका थिए।

एक अन्तर्वार्तामा उनले आफू सानै देखि बिद्रोही स्वभावको रहेको बताएका छन् । अङ्ग्रेजीमा स्नातक गर्दै गर्दा यिनले कलेजमा केही नाटक पनि खेलेका थिए । यिनका पहिलो नाटक गुरु सुनिल चित्रकार हुन् जसबाट यिनले अभिनय बारे प्रारम्भिक ज्ञान् लिएका थिए । यिनले अभिनय गरेको पहिलो नाटकको नाम जलता हुआ रात थियो । कुनै वर्कशपमा यिनको अभिनय हेरेपछि थिएटरका नामी डाइरेक्टर रामगोपाल बजाजले यिनलाई भनेका थिए ‘तिमीसंग अभिनयको शिव रहिछ अब पार्वतीका लागि काम गर्नु’ । शुरुमा त उनले यो कुराको छेउ टुप्पो केही बुझेनन् तर जब कुरोको चुरो बुझे यसैलाई आफ्नो गुरुमन्त्र बनाए।

अङ्ग्रेजीको स्नातक पछि यिनले फिल्म एण्ड टेलिभिजन ईन्स्टिच्युट अफ इन्डिया,(एफटिआइआई) पुणेबाट अभिनयमा स्नातक गरे। एफटिआइआइमा यिनका क्लासमेटहरु थिए आजका नायक राजकुमार राव, बिजय बर्मा आदि । अभिनयको पढाई सकेपछि यिनी केही समय पुणेमै रोकिएका थिए ।
धेरै पटक आर्मी बन्ने सपनामा असफलता बेहोरेका यी कलाकारले त्यसैको कारण अभिनयमा स्नातक गरिसक्दा पनि अब के भन्ने प्रश्नलाई चिर्न सकेका थिएनन् । जयदिपले सिनेमाका लागी पहिलो पटक क्यामरा फेस गरेको फिल्मको नाम नर्मिन थियो । यसपछी यिनले प्रीयदर्शनको फिल्म आक्रोशमा सानो भुमिका खेलेका थिए । यिनको अभिनयबाट प्रभावित भएर प्रियदर्शनले आफ्नो अर्को फिल्म खट्टामिठ्ठामा मेन भिलेनको रोल अफर गरेका थिए । सन्जय राणे नाम गरेको भ्रष्ट राजनीतिज्ञको यो रोलले उनको पहिचानलाई केही विस्तार गरेको पक्कै थियो।
तर यसपछि उनलाई फिल्ममा स्थान पाउन संकट पो शुरु भो। धेरै अडिसनमा ‘नो फेस नो फेस’ भन्ने सुन्दा सुन्दै कुनै समय यिनी भित्र डर यति व्यापक भैसकेको थियो कि यी ऐनामा आफनो अनुहार हेर्न पनि डराउथे। तर पनि हार नमानी सानो सानो रोल गर्दै यिनले २०१२ मा आएर ‘गैंगस अफ वासेपुर’मा शाहिद खानको गज्जब रोलमा मौका पाए ।यो फिल्मले थोरै भएपनि आफनो अभिनय भोक मेटाएको र कामको रोटि दिलाउन ठुलो मद्दत गरेको उनी ठान्दछन् ।
यो फिल्म पछि यिनले कमाण्डो,गब्बर इज ब्याक,मिथिंया गैगस्टार,र कमल हसनको तमिल सिनेमा बिश्वरुपम् मा काम गरे । बिश्वरुपम् सिनेमामा काम गरेर उनले अप्रत्यक्ष रुपमा कमल हसनबाट धेरै सिक्न पाएको बताउने गर्छन् । यिनको क्यारियरलाई यसपछि आएर पुस अप दिने अर्को एउटा सिनेमाको नाम राजी हो ।


राजीमा यिनी खालिद मिर नामक पात्रको भुमिकामा छन् जो राजी नामक पात्रको मेण्टेर हो। उनको यो रोललाई पनि समिक्षकले निकै प्रशंसा गरेका थिए ।सन् २०२० मा आएको वेभ सिरिज पाताल लोकले त यिनलाई उत्कृष्ट अभिनेताको श्रेणीमै बिराजमान गराएको छ । हाथिराम चौधरी नामक पुलिस इन्स्पेक्टरको त्यो रोल अविस्मरणीय छ। सिनेमा हेरेका धेरै दर्शकलाई लाग्छ यो रोल उनी बाहेक अरु कसैले पनि त्यसरी गहिराईमा गएर गर्न सक्दैनन्।
सबै कुरामा हारेको वा सबैले नकारेको देखिने यो पात्रले पनि मौका पाउदा आफुलाई साबित गर्न गरेको संघर्ष यसमा देखिन्छ। सिरिज हेरेपछि यिनका पिताले एकदिन यिनलाई फोन गर्दै भनेछन् गज्जब छ फेरि एक यस्तै जावोस त ! आफ्ना लागि जिन्दगीको यो नै सबैभन्दा बेस्ट कम्प्लिमेण्ट भएको उनले बतएका छन्।बार्ड अफ ब्लड नामक सिरिजमा यिनले इमरान हाशमीसंग पनि काम गरेका छन्।


यिनका लागि रोल सकारात्मक वा नकारात्मक भन्ने कुनै डिभिजन छैन। यिनले भनेका छन् ‘एउटा कलाकारका रुपमा मैले त्यो पात्र माथी न्याय गर्छु कि गर्दिन त्यो बेशी जरुरी लाग्छ’ । सिनेमा र साहित्यमा सानैदेखी रुचि राख्ने यी कलाकार पहिले अमिताभ बच्चन र धर्मेन्द्र हेर्दा प्रभावित बन्थे भने सिनेमा पढ्न थालेपछि यिनी बलराज साहनी ,ओम पुरी, नसरुद्दिन शाह,सबाना आजमी,आदिबाट प्रेरित भए। पाताल लोकबाट ओटिटी फिल्मफेयर अवार्डको सर्वउत्कृष्ट नायकको अवार्ड लिदै उनले उक्त अवार्ड दिवंगत नायक इरफान खानप्रति सर्मपित गरेका थिए । हिन्दी सिनेमामा जब ओटिटीको बिस्तार भयो तब केही क्षमतावान कलाकारले आफ्नो वास्तविक कलाकारिता देखाउने मौका पाए। ओटिटि प्लेटफर्मले बिग चान्स दिएका कलाकारमा जयदिप पनि पर्छन्।

तिमीसंग दक्षता र धैर्यता छ भने बिना गडफादर पनि फिल्ममा सफल हुन सकिन्छ भन्ने उदाहरण पेश गरेका नायक जयदिप अलावतको जय होस्।

दिपक शर्मा

Leave a Reply

Your email address will not be published. Required fields are marked *