साउन २२ गतेदेखि आयोजना प्रभावितलाई आईपिओ निष्काशन गर्दै सामलिङ्ग पावर
सामलिङ्ग पावर कम्पनी लिमिटेडले साउन २२ गतेदेखि आयोजना प्रभावितलाई आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावितको लागि ५ लाख कित्ता शेयर निष्काशन गर्ने भएको हो ।
जस मध्ये आयोजना प्रभावित इलाम जिल्ला भरिका स्थानीयलाई ३ लाख कित्ता छुट्याईएको छ । त्यस्तै अति प्रभावित इलाम नगरपालिकाको वडा नम्बर ८ र १० तथा माईजोगमाइ गाउँपालिकाको वडा नम्बर ४ र ५ का स्थानीयलाई २ लाख कित्ता शेयर निष्काशन गरिने छ । यस आईपिओमा आवेदनले न्युनतम १० कित्ता र अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सक्ने छन् । यस निष्काशनमा छिटोमा भदौ ५ गतेसम्म र सो समयसम्म आवेदन नपरेमा ढिलो भदौ २० गतेसम्म आवेदन दिन सकिने छ ।
नेपाल धितोपत्र बोर्डले कम्पनीलाई असार ३१ मा आईपिओ निष्काशनको लागि अनुमति दिएको हो । कम्पनीले आईपिओ निष्काशनको लागि अनुमति माग गर्दै माघ ५ गते बोर्डमा आवेदन दिएको थियो।
कम्पनीले सर्बसाधारण र स्थानीयलाई गरि १२ करोड ३० लाख रुपैयाँ बराबरको १२ लाख ३० हजार शेयर निष्काशनको अनुपति पाएको हो । स्थानीयलाई शेयर बिक्रि गरेपछि सर्वसाधारणको लागि शेयर बिक्रि खुला हुने छ । कम्पनीले शेयर निष्काशनको लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्गलाई बिक्रि प्रबन्धक चयन गरेको छ ।