जसपा संसदीय दलको विधान सर्वसम्मतिले पारित
जनता समाजवादी पार्टी (जसपा) ले संसदीय दलको विधानलाई सर्वसम्मतिले पारित गरेको छ ।
सिंहदरबारमा मंगलबार बसेको जसपा संसदीय दलको बैठकले संसदीय दलको विधान २०७८ को विधान पारित गरेको जसपा अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए ।
बैठकमा विधान मस्यौदा प्रस्तुत भई छलफल भएको र आएका सुझावहरु समेतलाई समावेश गरी संघीय संसदीय दलको विधान २०७८ पारित गर्ने निर्णय गरेको उनले बताए ।यादवले संसदीय दलको बैठकबाट पारित विधानलाई अनुमोदनका लागि केन्द्रीय कार्यसमितिमा पठाउने निर्णय भएको जानकारी दिए ।
दलको अर्को बैठकले संसदीय दलको नेता चयन गर्नुका साथै सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुङ्गो लगाउने उनले बताए ।
बैठकमा पार्टी अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराई पक्षका करीब दुई दर्जन सांसदहरुको उपस्थिति थियो ।