कक्षा १२ को वार्षिक परीक्षा साउन मसान्तबाट सुरु गरिने


कोरोना भाइरस सङ्क्रमणका कारण स्थगित कक्षा १२ को अन्तिम वार्षिक परीक्षा साउन मसान्तबाट सुरु गरिने भएको छ । विद्यार्थीको भौतिक उपस्थितिमा परीक्षा सञ्चालन हुने र विगतको झैँ एक सय पूर्णाङ्कको लिखित परीक्षा लिइने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले विद्यार्थीको भौतिक उपस्थितिमै कक्षा १२ को परीक्षा गर्न अनुमति दिएको जानकारी दिँदै साउनको अन्तिमबाट परीक्षा सुरु गर्ने योजना रहेको बताए । यसअघि बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गर्न (सीसीएमसी)सँग अनुमति मागेको थियो ।
अब एक-दुई दिनभित्रै बोर्डको बैठक बसेर परीक्षाका बारेमा कार्यतालिका सार्वजनिक गर्ने जनाइएको छ ।

एक सय पूर्णाङ्ककै परीक्षा
यसैबीच बोर्डले यसपटक एक सय पूर्णाङ्ककै परीक्षा सञ्चालन गर्ने भएको छ । गत वर्ष कोरोना भाइरसका कारण कक्षा १२ मा अध्ययन गर्ने विद्यार्थीसित जम्मा ४० पूर्णाङ्कको परीक्षा लिइएको थियो ।
बोर्डको यस खालको तयारीपछि अब कक्षा १२ का विद्यार्थीले तीन घण्टाकै परीक्षा दिनुपर्नेछ । कक्षा १२ मा अध्ययन गर्ने विद्यार्थी उच्च शिक्षामा प्रवेश गर्ने र विदेशी विश्वविद्यालयमा अध्ययनका लागि समेत जाने हुँदा गुणस्तरमा कमी गर्न नहुने भएकाले लिखित परीक्षा नै लिने निचोडमा पुगिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *