अदालतको मानहानी गर्ने गरी गरिएको व्याख्या मान्य छैन् : माधवकुमार नेपाल
नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकारबाटै अदालतको मानहानी गर्ने काम भएको बताएका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो प्रतिक्रिया सार्वजनिक गर्दै भनेका छन्, “हिजो राति नेकपा एमालेको आन्तरिक एकता सम्बन्धमा कार्यदल स्तरमा भएको सहमति र त्यसलाई व्याख्या गर्ने सन्दर्भमा प्रधानमन्त्री तथा पार्टी अध्यक्षका प्रेस सल्लाहकारको फेसबुक स्टाटस सहमति गर्दा भएको छलफलको मर्म विपरीत छ ।
यो व्याख्या गलत र अस्वीकार्य छ । अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने वा अदालतको मानहानी गर्नेगरी गरिएको वा गरिने व्याख्या मान्य नहुने कुरा स्पष्ट पार्दै सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा निवेदक रहेका नेकपा एमालेका २३ जना सांसदहरु सबै एकसाथ रहेको र आफ्नो मान्यता र हस्ताक्षरमा दृढ रहेको कुरा स्पष्ट पार्दछु ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले कांग्रेस सभापति देउवा लक्षित ट्वीट्मा लेखेका छन्, शेरबहादुर देउवाको साथमा निवर्तमान प्रतिनिधि सभाका सदस्यहरु अब १२३ मात्र। सर्वोच्चद्वारा न परमादेश न पुनस्स्थापना! मच्चियो मच्चियो, जेठो नराम्ररी थच्चियो!! जय नेपाल!!!