ओली समूहका दोस्रो तहका नेताहरु माधवकुमार नेपाल निवासमा
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली समूहका दोस्रो तहका नेताहरुले पार्टीलाई एकताबद्ध बनाउन नेता माधवकुमार नेपाललाई आग्रह गरेका छन् ।
आज बिहान नेताहरु विष्णु पौडेल, शंकर पोखरेल र सुवास नेम्वाङ नेपाल निवास कोटेश्वर पुगेका थिए । दोस्रो तहका नेताहरु पाटीलाई एकताबद्ध बनाउन लगातार छलफलमा छन् ।
कोटेश्वर पुगेका नेताहरुले नेपाललाई अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर छलफल गर्न आग्रह गरेका हुन् । “उहाँलाई हामीले पार्टीलाई एकताबद्ध बनाउन लाग्नोस् । हामी एकताबद्ध छौँ र हुन्छौँ । तपाईं र अध्यक्ष ओली बसेर सल्लाह गर्नोस् भन्यौँ,” एक नेताले जानकारी दिए ।
छलफलमा नेपाल पक्षका नेता घनश्याम भुसाल पनि सहभागि थिए । नेता नेपालले भने अरु नेताहरुसँग छलफल गरेर जवाफ दिने बताएको ती नेताले जानकारी दिए ।