धितोपत्र बोर्डको प्रतिवेदनमा इपानको आपत्ति
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान)ले वास्तविक अवस्थाको ख्याल नै नगरी नेपाल धितोपत्र बोर्डले विभिन्न जलविद्युत् कम्पनीको शेयर कारोवारमा जोखिम रहेको भनी सार्वजनिक गरेको प्रतिवेदनप्रति आपत्ति जनाएको छ ।
इपानले बिहीबार एक विज्ञप्तिमार्फत जलविद्युत् आयोजना निर्माण सम्पन्न भएपछि मात्रै आम्दानी विस्तारै बढेर जाने तथा प्रतिशेयर मूल्य आम्दानी र प्रतिशेयर नेटवर्थ वृद्धि हुने उल्लेख गरेको छ ।
इपानका अध्यक्ष कृष्णप्रसाद आचार्यले सरकार, नेपाल राष्ट्र बैंकको सकारात्मक पहलपछि अन्य कम्पनीहरूको जस्तै जलविद्युत् कम्पनीको शेयर मूल्यमा वृद्धि भएको तथ्यलाई बोर्डले ख्याल नगरेको बताए ।
बोर्डले यही असार १ गते विभिन्न ५१ वटा कम्पनीको शेयरमा लगानी गर्नु जोखिमपूर्ण रहेको भन्दै अध्ययन प्रतिवेदन सार्वजनिक गरेको थियो । त्यसमा २० वटा जलविद्युत् कम्पनी थिए । जलविद्युत क्षेत्रमा गलत भएका कुनै पनि विषयलाई सुधार गरेर जान इपान बोर्डलाई सहयोग गर्न तयार रहेको विज्ञप्तिमा उल्लेख छ ।