गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र पोखरेल नियुक्त


नेपाली कांग्रेस गण्डकी प्रदेशसभाका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री नियुक्त भएका छन्।गण्डकी प्रदेश प्रमुख सीता कुमारी पौडेलले पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेकी हुन्।

बिहीबार प्रदेशसभामा विश्वासको मत पाउन असफल भएपछि पृथ्वीसुब्बा गुरुङ पदमुक्त भएका थिए। शुक्रवार प्रदेश प्रमुख पौडेलले नयाँ सरकार गठनका लागि आह्वान गरेकी थिइन्।

शुक्रवार नै कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलले बहुमत सांसदको समर्थन सहित दाबी पेश गरेका थिए। कांग्रेसका १५ प्रदेशसभा सदस्य, नेकपा माओवादी केन्द्रका ११ जना, राष्ट्रिय जनमोर्चाका २ जना, जनता समाजवादी पार्टी नेपालका २ जना र स्वतन्त्र प्रदेशसभा सदस्य राजीव गुरुङ सहित ३१ जनाको समर्थनमा उनले दाबी पेश गरेका थिए।

विश्वासको मत पाउन असफल भएका पृथ्वीसुब्बा गुरुङले समेत प्रदेश प्रमुख समक्ष फेरि मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए। तर, प्रदेश प्रमुखले पोखरेलको दाबीलाई स्वीकृत गरेकी हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *