अमेरिकाले कोरोना विरुद्धको खोप उपलब्ध गराउने
अमेरिकाले नेपाललाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल ट्विटरमार्फत आफूहरूको अनुरोधलाई स्वीकार गरी खोप उपलब्ध गराउने निर्णय गरेको भन्दै अमेरिकालाई धन्यवाद दिएका छन् ।
उनले अमेरिकाको खोप उपलब्ध गराउने निर्णयले नेपाल र अमेरिकाबीचको सम्बन्ध थप बलियो हुने पनि बताएका छन् ।तर, नेपालले कति डोज खोप पाउने भन्नेबारे खुलाइएको छैन ।
अमेरिकाले नेपालसहित एसियाका विभिन्न १६ मुलुकलाई करिब ७० लाख डोज खोप दिने निर्णय गरेको छ ।परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पनि नेपाल कोरोनाविरुद्ध संघर्ष गरिरहेका बेला अमेरिकाले खोप उपलब्ध गराउने निर्णय गरेको भन्दै खुसी व्यक्त गरिरहेका छन् ।